रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा जोड्न झोलुङ्गे पुल निर्माण कार्य जारी छ । करिव सात करोड ५० लाख रुपियाँ लागतमा सङ्घीय सरकारको सहयोगमा उक्त पुलको निर्माण सुरु गरिएको हो । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण रोकिएको पुल निर्माण कार्य अहिले फेरी सुरु गरिएको हो ।
स्थानीय सरकारको पहलमा ४६५ मिटर लामो पुल निर्माण कार्य जारी रहेको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडाध्यक्ष विष्णु कुमार श्रेष्ठले बताउनुभयो । कोरोना भाइरसका कारण निर्माण कार्य स्थगित भएकोमा अहिले पुल निर्माण कार्य निरन्तर भैरहेको छ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । पुल निर्माण भएपछि कोथपेका माझी समुदायको लागि काठको परम्परागत डुङ्गा, ¥याफ्टिङ र गाडीको ट्यूवबाट वारपार गर्नुपर्ने जोखिमको अन्त्य हुने वडाध्यक्ष श्रेष्ठको विश्वास छ ।
गाउँपालिका भित्रको पर्यटकिय पूर्वाधार विसका रुपमा उक्त पुल निर्माणलाई जोड दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । आफुहरु निर्वाचित भएर आएदेखिनै सो स्थानका नागरिकले पुल निर्माणको माग गरेका थिए, नागरिकको मागपछि गाउँपालिकाले आवश्यक अध्ययन अनुशन्धानपछि उक्त स्थानमा पुल निर्माणको काम सुरु गरेको हो गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो । जिल्लामा अहिलेसम्मको सबैभन्दा लामो बन्ने झोलुङ्गे पुल निर्माणपछि कोथपेका माझी समुदायको जोखिम मोलेर कोसी वारपार गर्नुपर्ने बाध्यता हट्ने छ ।आपुहरुलाई कोसी वारपार गर्न जोखिमता भएको भन्दै माझी समुदायले विगत धेरै बर्ष अघिदेखीझोलुङ्ग पुल निर्माण गर्न माग गर्दै आएका थिए । उक्त स्थानमा पुल नहुँदा ढुंगा दुर्घटना हुँदा नागरिकको ज्यान समेत गुमाएका थिए ।