रामेछाप । रामेछाप जिल्लामा महिला हिंसाका घटना बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
इन्सेक र मानवअधिकार संरक्षण सञ्जाल रामेछापले बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको जिल्लाको सन् २०२१ को पहिलो ६ महिनाको मानव अधिकारको समिक्षा कार्यक्रमका सहभागीले सो चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले जिल्लामा घरेलु हिंसाका घटना बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले मानवअधिकार उल्लङ्घनका घटना कम गर्न राज्य, मानवअधिकार कर्मी, आम नागरिक तथा सरोकारवाला समेतको भूमिका रहने बताउनुभयो । उहाँले अधिकारकर्मीको सचेतनाको कारण रामेछापमा मानव अधिकार उल्लङ्घनका घटनामा केही कमी रहेको बताउनुभयो ।
रामेछापका प्रहरी प्रमुख डीएसपी नवराज ढुङ्गानाले नेपाल प्रहरी मानव अधिकारको सवालमा संवेदनशील रहेको बताउनुभयो । ढुङ्गानाले कुनै पनि घटनामा प्रहरीले करकापमा मिलाउने काम बन्द गरेको बताउनुभयो । उहाँले हिरासतका थुनुवाको लागि समेत पुस्तकालय र टेलिभिजनको व्यवस्था गरेको बताउनु भयो । कार्यक्रममा उहाँले जिल्लामा सबै भन्दा बढी घरेलु हिंसाका उजुरी पर्ने गरेको बताउनु भयो । यसको नियन्त्रणको लागि सबैको साझा प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सन् २०२१ को ६ महिनामा मानव अधिकार उल्लंघनका १३ वटा घटना अभिलेखीकरण भएको इन्सेक रामेछापका प्रतिनिधि नवराज पथिकले बताउनुभयो । उहाँका अनुसार संकलन गरिएका घटनामध्ये अधिकांश महिला हिंसा र बलात्कारका छन् । मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अधिकारकर्मी तथा पत्रकारले जिल्लामा आर्थिक सामाजिक अधिकारको विषयमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।