रामेछाप । मन्थली नगरपालिकाले आफ्नो सम्पुर्ण नगरवासीको मृगौला (किड्नी) परिक्षण गरिने भएको छ । शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा बुधबार मन्थलीमा भएको सार्वजनिक सुनुवाइमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले नगरपालिकाका सम्पुर्ण नगरवासीहरुको किड्नी परिक्षण गरिने योजना रहेको जानकारी दिनु भयो ।
मानव अधिकार संरक्षण सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुराडेक नेपाल, हुसोक रामेछाप, दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मन्थलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थ्यशाखा प्रमुख फुयाँलले गतवर्ष देखिनै सुरु गर्ने योजना गरेता पनि विविध कारणले गर्दा अबको आ.व. मा त्यो योजना प्राथमिकतामा रहेको बताउनु भयो । नेशनल किड्नी सेन्टरसंगको समन्वय तथा तामाकोशी सहकारी अस्पताल र किष्ट हस्पीटल संगको सहकार्यमा किड्नी परिक्षणको योजना अगाडी बढेको उहाँले बताउनु भयो ।
त्यस्तै सरकारले निःशुल्क उपलब्ध गराउने औषधी वर्ष भरि नै नगरपालिकाका स्वास्थ्य संस्थामा अभाव हुन नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्थली नगरपालिकाको जनसंख्या करिब ५१ हजार जना रहेको नगरपालिकाको डाटामा उल्लेख छ ।