एमाले नेतृ कार्कीद्धारा रामेछापका विभिन्न स्थानहरुमा स्वास्थ्य सामग्री वितरण

  • प्रकाशित मिति: सोमबार, असार १४ २०७८
  • तामाकोशी

रामेछाप । (भोभिड-१९) कोरोना भाइरसको दोस्रो भेरियन्ट देखिएपछि जिल्लाका सबै स्थानीय तहहरुमा अबश्यक मेडिकल सामग्री उपलब्ध गराउन दिन रात सक्रिय छिन् नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्की । रामेछापका २ नगरपालिका र २ गाउँपालिकामा मेडिकल सामग्री उपलब्ध गराईसकेकी उनी सबै स्थानीय तहमा सामग्री पुर्याउने लक्ष्यमा छिन् ।

मन्थली नगरपालिका, रामेछाप नगरपालिकाको हिमगंगा, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा उनले स्वास्थ्य सामग्री उपलब्ध गराएकी छिन् । मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा पनि छुट्टै सहयोग पुर्याएकी कार्कीले प्रेस चौतारी नेपाल, रामेछापलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।



नेतृ कार्कीको पहलमा मन्थली नगरपालिकालाई भरेको अक्सिजन ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, पल्स अक्सिमिटर २ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ सय र मास्क ५ सय थान उपलब्ध भएको छ ।

पीपीई सेट १५ पीस, गाउन २० थान, थर्मल गन २ थान र १ सय पीस एन–९५ मास्क मन्थली नगरपालिकाकी उपमेयर माया कुमारी कार्कीलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै गरी कार्कीले आफ्नो पहलमा रामेछाप नगरपालिकामा पनि मेडिकल सामग्रीहरु उपलब्ध गराएकी छिन् । रामेछापको हिमगंगामा उनले अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन भरिएको सिलिण्डर २ थान, थर्मोगन २ पीस, पल्स अक्सिमिटर १ पीस, एन–९५ मास्क १ सय थान, पीपीई सेट ५० पीस, सर्जिकल मास्क ३ बक्स, जेनेरल सर्जिकल मास्क ३ बक्स र ५ सय एमएलका ३ ग्यालिन स्यानिटाइजर पठाएकी छिन् ।

गोकुलगंगा गाउँपालिकामा नेतृ कार्कीको पहलमा १३ प्रकारका सामग्री पुगेका छन् । आइतबार कार्कीले गोकुलगंगालाई उपलब्ध गराएका सामग्रीमा एन्टिजेन किट १ सय थान, भिटिएम किट ३ सय थान, सर्जिकल पञ्जा १ सय जोर, पल्स अक्सिमिटर २ पीस, थर्मल गन २ थान, १० लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सन्ट्रेटर २ थान, ४० लिटरका अक्सिजन सिलिण्डर (अक्सिजन भरिएको) ३ थान रहेका छन् । यीसँगै सर्जिकल मास्क २ सय पीस, गाउन १ सय थान, स्यानिटाइजर ५ सय एमएलको २ वोतल, एन–९५ मास्क ५० पीस, गमबुट १५ जोर र ५० पीस फेस सिल्ड पनि उनले गोकुलगंगामा पठाएकी छिन् ।

उमाकुण्ड गाउँपालिकामा पुर्याइएका सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन सिलिण्डर २ थान, एन्टिजेन किट ५० थान र भिटिएम किट ६ सय पीस (२ बक्स) रहेका छन् । यस्तै सुनारपानीमा कार्कीले अक्सिजन सिलिण्डर एक थान उपलब्ध गराएकी छिन् । पीपीई सेट केही थान, सर्जिकल र मेडिकल मास्क केही थान उनले मन्थली–५ सुनारपानीमा उपलब्ध गराएकी छिन् ।

यसैबीच प्रेस चौतारी नेपाललाई पनि उनले मास्क, स्यानिटाइजर लगाएत स्वास्थ्यसामाग्री सहयोग गरेकी छिन् । पत्रकारहरु समाचार संकलनमा निस्कदा असुरक्षित महशुस नगरुन् र उनीहरुमा संक्रमणको जोखिम नहोस् भनेर प्रेस चौतारीलाई पनि सहयोग गरिएको नेतृ कार्कीको भनाई छ ।

उनले हालसम्म ४ वटा गाउँपालिकामा सामान उपलब्ध गराईसकेकी छिन् । आवश्यकता अनुसार सबै स्थानीय तहमा स्वास्थ्य सामग्री लिएर पुग्ने उनको लक्ष्य छ । नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ महासंघकी महासचिवसमेत रहेकी नेतृ कार्कीले यही संस्थामार्फत धेरै ठाउँमा पहल गरेर स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् । संस्थामार्फत आफैँले पहल गरी गृह जिल्ला रामेछापमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन उनले आफ्नो व्यक्तिगत खर्चमा समेत धेरै स्वास्थ्य सामाग्री जिल्लामा ल्याइएको उनको भनाई छ ।