नेपाली आकाशमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउन दुई कम्पनीको अनुमति

  • प्रकाशित मिति: मंगलबार, असार १ २०७८
  • तामाकोशी

काठमाडौं । नेपाली आकाशमाथि उड्ने विमानमा अब चाँडै इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ । त्यसका लागि दुई सेवाप्रदायकले अनुमति प्राप्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले थालस र सिता फर एयरक्राफ्ट नामक दुई कम्पनीलाई अनुमति प्रदान गरेको जनाएको छ । प्राधिकरणका अनुसार यी सेवाप्रदायक कम्पनीलाई गएको अप्रिल ४ तारिखमै पत्र पठाएर अनुमति प्रदान गरेको विषयमा जानकारी दिइएको छ । योसँगै अनुमतिप्राप्त कम्पनीले १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने भएका छन् ।

यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले केही समयअघि अध्ययन गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिसहितको एक समिति गठन गरी गरिएको उक्त अध्ययनले १० हजार फिटमाथि आकाशमा इन्टरनेट तथा टेलिफोन सेवा दिन सकिने निष्कर्ष निकालेको थियो ।



यसरी अनुमति दिँदा देशको दूरसञ्चार सेवामा कुनै किसिमको असर नपर्ने जनाइएको छ । त्यसैका आधारमा यो विषयमा प्राधिकरण बोर्डमा छलफलका लागि गएको थियो । बोर्डले पनि यो उक्त विषयमा अनुमति दिन सकिने भनी निर्णय गरेसँगै कम्पनीहरुलाई अनुमति प्रदान गर्न थालिएको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताए । उनका अनुसार झण्डै ९ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउनका लागि स्वीकृति मागेको थियो । उसले दूरसञ्चार सेवा प्रदान गर्नेभन्दै निवेदन पेश गरेको थियो । त्यसका लागि कम्पनीले विमानभित्रै पिको सेल अर्थात फोरजीको सानो बीटीएस राखेर सेवा उपलब्ध गराउने छन् ।

बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भएर विमानमा सेवा उपलब्ध हुने यस्तो सेवा, जुन देशको विमान हो, त्यही देशको दूरसञ्चार सेवा प्रदायकको हुनेछ ।