नेपालसँग एकता सम्भावना कमः मन्त्रिपरिषद् विस्तारको तयारी, गृहमा अधिकारीको चर्चा

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २६ २०७८
  • तामाकोशी

काठमान्डौं, जेष्ठ २६ गते । पछिल्लो समय नेकपा (एमाले)मा देखिएको विवाद अब नमिल्ने सम्भावना बढेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले केही दिन माधव नेपाल समूह फेरि मिल्न आउन सक्ने भन्दै यसअघि जनता समाजवादी पार्टीका ठाकुर–महतो पक्षलाई समावेश गरेर मन्त्रिपरिषद् गठन गर्दा सात मन्त्रालय आफैंसँग राखेका थिए ।

उनले यी मन्त्रालयहरु नेपाल पक्ष र माओवादीबाट एमालेमा आएको समूहलाई समावेश गर्नका लागि आफूसँग राखेका थिए । गत शुक्रबार मन्त्रिपरिषद् गठन गरिसकेपछि प्रधानमन्त्री ओलीले पार्टी एकता आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अगाडि सारेका थिए । तर, माधव नेपाल समूहले यो ६ बुँदे प्रस्तावलाई ओलीको जालझेलको संज्ञा दिएको छ ।



मंगलबार मात्र ओली र नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुले ललितपुरको एक होटलमा छलफल पनि गरेका थिए । तर, यो छलफलमा पनि नेपाल पक्ष सरकारमा समावेश हुने वा ओलीसँग मिल्ने सम्भावना देखिएन ।

योसँगै माधव नेपाल पक्षसँग एकताको सम्भावना अब नरहेको प्रधानमन्त्री ओलीले ठहर गरेका छन् । अनि मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्यमा उनी जुटेका छन् । तर, तत्कालीन माओवादी केन्द्रबाट एमालेमा आएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल समूहले बाँकी सातै मन्त्री पद आफूहरुले पाउनु पर्ने अडान राखेको छ । बादल समूहसँग प्रधानमन्त्री ओलीले ३ जना मन्त्री दिनसम्म सकिने आश्वासन दिएका छन् । गृहमन्त्रीमा प्रधानमन्त्री ओलीले कास्कीका नेता खगराज अधिकारी ल्याउने सम्भावना बढी छ ।

बालुवाटार निकट स्रोतका अनुसार गृहमा अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ रहेको छ । त्यस्तै, गृहमा प्रधानमन्त्री ओलीले कर्ण थापालाई मन्त्री बनाउने सम्भावना छ । ओलीनिकट नेताहरुमा प्रदीप ज्ञवाली, विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, राजेन्द्र गौतम, कृष्णभक्त पोखरेल लगायत नेताहरु मन्त्री बन्ने सम्भावना बढी छ ।