लकडाउनको एक महिनामा कोरोनाबाट ३८ सयभन्दा बढीको मृत्यु

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १५ २०७८
  • तामाकोशी

काठमाडौं । मुलुकमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले घोषणा गरेको निषेधाज्ञा (लकडाउन) को अवधि एक महिना भएको छ । यो एक महिनामा मात्र कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ३८ सय नाघेको छ । कोरोनाको दोस्रो लहरबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरकारले गएको वैशाख १६ गतेबाट राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा आवश्यकताका आधारमा निषेधाज्ञा लगाउँदै आएको छ । लकडाउनको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको हो । लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो । यसबीचमा सबैभन्दा बढी जेठ ५ गते २४६ जनाको मृत्यु भयो भने वैशाख २८ का दिन २२५ जनाको मृत्यु भएको थियो । लकडाउनको एक महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ सयभन्दा बढी, खोपको प्रबन्ध अझै हुन सकेन १० माघ २०७६ (२४ जनवरी २०२०) चीनको वुहानबाट आएका विद्यार्थीमा कोरोनाको पहिलो केश फेला परेको नेपालमा त्यसयताका १६ महिनामा ५ लाख ४९ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । ३ जेठ २०७७ (१६ मे २०२०) कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको नेपालमा त्यसयताको अवधिमा ७ हजार ४७ जनाको मृत्यु भइसकेको छ । पहिलो लहरको समयमा सबैभन्दा बढी १९ कात्तिक २०७७ मा ४३ जनाको मृत्यु हुँदा दोस्रो लहरको लकडाउन घोषणा पूर्वसम्म ३ हजार २११ जनाको मृत्यु भएको थियो । २९ बैशाख २०७८ मा सबैभन्दा बढी ९ हजार २३८ जनामा भाइरसको संक्रमण देखिएको थियो । हालसम्म ५ लाख ४९ हजार १११ जना संक्रमित हुँदा ४ लाख २८ हजार ६७० जनालाई निको भैसकेको छ । पछिल्ला दिनमा संक्रमित हुनेभन्दा निको हुनेको दर पनि बढ्न थालेको छ ।