धोवी,जेष्ठ १३ गते । रामेछाप लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले अस्पताल कुनै हालतमा गाउँपालिका केन्द्रमै बन्ने बताउनु भएको छ । केहि मिडियाहरु तथा सामाजिक सञ्जालहरुमा आएका हल्ला झुट रहेको बताउदै १५ शैयाको अस्पताल गाउँपालिका केन्द्रमै बन्ने प्रेस विज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको हो ।
सिमित व्यक्तिको स्वार्थले गर्दा वडा नं. ६ खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बजेट विनियोजन भएको थाहा पाए पछि आफु स्वयम मन्त्रालयमा गएर १५ शैया अस्पतालको बारेमा पालिकाबासीको भावनाअनुसार कार्यापालिकाको बैठकको निर्णय सहित स्पष्ट कुरा रोखेको विज्ञप्तिमा भनिएको छ । उहाँले स्थानिय जनप्रतिनिधीहरु जनताको मागको सम्बोधन गर्न आनाकानी गर्दै, बुझी-बुझी बुझ पचाएर आफ्नो सिमित स्वार्थमा लागेको आरोप लगाउनु भयो । विज्ञप्तिमा भनिएको छ “कस्तो विडम्बना योजनाको नाम वडा नै फरक देख्दा-देख्दै आम मेरा न्याय प्रेमी जनसमुदायलाई झुक्याई भुलाई भ्रममा पारेको देखियो, अझ यसमा प्रत्यक्ष यहाँका जनप्रतिनिधीहरुलाई उक्त वजेट कहाँबाट कति आयो भन्ने कुरा के थाहा हुन्न होला र ?”
तामाकोसी अनलाइनसंगको छोटो सम्बादमा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले पालिकाबासी आम नागरिकलाई न्याय हुने गरी कुनै हालतमा वडानं. ४ नागीमा अस्पताल बन्ने र १५ शैया सम्मको अस्पताल बनाउन आफु २४ सै घण्टा खट्न तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो “बरु म फाँसी जान तयारछु, कुनै हालतमा अस्पताल पालिका केन्द्रमै बन्छ ।”
कोरोनाको महामारीको समयमा अफ्टयारोमा परेमा आफुलाई सम्पर्क गर्न अनुरोध गर्दै निशुल्क २ वटा एम्बुलेन्स र २ वटा गाडी २४ सै घण्टा तयारमा राखेको अध्यक्ष खड्काले बताउनु भएको छ । उहाँले विगतदेखि आर्थिक रुपमा विपन्नहरुलाई आफुले व्यक्तिगत सहयोग समेत गर्नेगरेको बताउदै पालिकाबासीको लागि २४ सै घण्टा खट्न तयार रहेको समेत बताउनु भएको छ ।
वि.स. २०७७ साल मंसिर ७ गते लिखुताकोशी गाउँपालिका वडा नं. ४ नागीमा शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा १५ शैयाको अस्पतालको शिलन्यास भएको थियो भने तात्कालिन कार्यबाहक अध्यक्ष दिपशिखा दाहालले तत्काल काम सुरु हुने बताउनु भएको थियो । तर पछिल्लो राजनितिक घटनाक्रमका विचमा नागीमा शिलन्यास भएको अस्पताल केहि सिमित जनप्रतिनिधीको स्वार्थले वडा नं. ६ खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रको नाममा बजेट विनियोजन भएको खबर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको थियो ।
मिति वि.स. २०७७ मंसिर ७ गते शिलन्यासको भिडियो यस्तो थियो…..