रामेछाप, जेष्ठ ९ गते । जिल्लाको गोकुलगंगा गाउँपालिका अन्तर्गतको प्रत्येक वडा–वडामा कोरोना भाइरस सम्बन्धि (एन्टिजन) परिक्षण हुने भएको छ । गाउँपालिकाभित्र कोरोना भाइरस संक्रमितको केशहरु बढ्न थालेपछि सोमबारदेखि प्रत्येक वडा–वडामा स्वास्थ्यकर्मीको टोली सहित ऐन्टिजेन परिक्षण गरिने पालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले तामाकोशी अनलाइनलाई जानकारी दिनु भयो ।
पालिकाका अध्यक्ष सुनुवारले भन्नुभयो “पछिल्लो समय हाम्रो पालिकाभित्र कोरोना भाइरसको संक्रमित केशहरु धेरै देख्न थालियो, यो विषयमा हामी धेरै सजक भएकाछौ, हामी भोली (सोमबार) देखिनै प्रत्येक वडामा २० देखि ३० जनाको एन्टिजेन परिक्षण गर्दैछौ” । शनिवार ६ जनाको एन्टिजेन परिक्षण लिएकोमा ६ जनामानै कोरोना संक्रमित पुष्टि भएपछि पालिकाका सम्पुर्ण जनशक्ति कोरोना भाइरस रोकथाममा केन्द्रित भएको जनाइएको छ ।
गोकुलगंगा अस्पतालमा अहिले १५ बेडको आइसोलेशन संचालनमा छ भने १ जना डाक्टर सहित २ जना स्टाफ नर्सको टोली कोरोना भाइरस रोकथाम केन्द्रित परिचालित रहेको पालिकाका अध्यक्ष सुनुवारले जानकारी गराउनुभयो । उहाँका अनुसार पालिका अन्तर्गतका कोरोना भाइरस संक्रमित विरामीहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ भने प्रति विरामीलाई (रु.३०००) तीनहजारको दरले औषधी तथा सन्तुलित आहारको लागि रकम व्यवस्थापन गरिएको छ ।
पालिकाले विरामी अस्पताल सम्म आवतजावतको लागि १ वटा एम्बुलेन्स निशुल्क व्यवस्था गरिएको तथा कोेहि विरामीको अबस्थालाई मध्यनजर गरेर अस्पतालमा औषधी, अक्सिजन र जनशक्तिको राम्रो व्यस्थापन गरिएको पालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी गराउनु भयो । अस्पतालमा अहिले सामान्य रुघाखोकी, ज्वरोको लक्षण देखिएका ६ जना संक्रमितहरुको उपचार भइरहेको जनाइएको छ ।