रामेछाप । माघ २६ गते,
छिमेकीको कुटाईबाट ज्यान गुमाएका मेरमान विकका परिवारलाई गोकुलगंगा गाउँपालिकाले खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले मृतक मेरमानकी श्रीमती पम्फादेवी विकलाई नगद दश हजार रुपियाँसहित तीन बोरा चामल, पाँच किलो दाल, पाँच किलो नुन, एक थान सिरक र दुई थान त्रिपाल सहयोग गर्नुभएको हो । अर्काको जमिनमा आश्रय लिएर भूकम्पको राहत स्वरुप आएको पैसाबाट घर बनाएर जसोतसो गुजारा चलाउँदै आएका मेरमानको छिमेकीको कुटाइबाट ज्यान गएसँगै विकको परिवारको दैनिकी झन–झन कठिन बन्दै गएपछि पालिकाको तर्फबाट आफूहरुले थोरै भएपनि सहयोग गरेको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो । जग्गाधनी प्रमाण पुर्जामा मेरमानको परिवारसँग आठ आना जग्गा रहेको देखिएपनि सडक र विद्युतको हाइटेन्सन लाइनले जग्गा कटान गरेपछि व्यवहारिक रुपमा भूमिहीन बनेका उनीहरुलाई आफूहरुले सकेको सहयोग गरेको अध्यक्ष सुनुवारले बताउनु बताउनुभयो । प्राकृतिक विपद्बाट क्षति पुगेको भए आफूहरुले नगद पँचास हजार रुपियाँसम्म सहयोग गर्न सक्ने भएपनि कुटिपिटबाट भएको घटना भएका कारण आफूहरुले यसभन्दा धेरै सहयोग नसक्ने उहाँले बताउनुभयो। गत पौष २५ गते स्थानीय साङतेन्जी शेर्पाको कुटाईबाट गम्भिर घाइते हुनुभएका मेरमानको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको थियो । परिवार धान्ने मेरमानको मृत्यु पश्चात विकका परिवार ठूलो समस्या परेका छन् । परम्परागत पेशा आरान काम गर्दै आउनुभएका मेरमानले त्यही पेशालाई आम्दानीको मुख्य स्रोत बनाएर आफ्नो पारिवारिक चलाउदै आउनुभएको थियो । मेरमानको मृत्यु भएसँगै उहाँको परिवारको आम्दानीको स्रोत पूर्ण रुपमा टुटिसकेको छ । श्रीमानको मृत्युपछि पम्फादेवी विक आफन्तकोमा आश्रय लिएर बस्दै आउनुभएको छ ।
छिमेकीको कुटाइबाट ज्यान गुमाएका मेरमानको परिवारलाई गाउँपालिकाको सहयोग
- प्रकाशित मिति: सोमबार, माघ २६ २०७७
- तामाकोशी