रामेछाप । पुस १८ गते ,
रामेछापको सुख्खाग्रस्त ठाउँलाई हरियाली प्रवर्धन गर्न सहयोग गर्ने उद्देश्यले जिल्लाको मन्थली नगरपालिका वडा नं १ स्थित सुकाजोर खोलामा विभिन्न जातका विरुवाहरु उप्पादन भैरहेको छ । मन्थली र रामेछाप नगरपालिकाको विभिन्न सुख्खाग्रस्त ठाउँहरुको भौगोलिक अवस्थालाई मध्यनजर गरी वातावरण संरक्षण परियोजनाले कृषि वन नर्सरी मार्फत कृषि ,वन र सजावट तर्फका विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गरिरहेको हो । परियोजनाले बनाएको नर्सरीमा अहिले वनतर्फ चिउरी,चाप,निम,किम्बु र सजावट तर्फ असोका,कपुर लगायतका विरुवा उत्पादन गर्ने काम भैरहेको छ । त्यसैगरी परियोजनाले कृषि तर्फ जुनार ,सुन्तला ,कागति,कटहर , आँप लगायतका विरुवाहरु उत्पादन गर्दै छ । वातावरण संरक्षण परियोजनाले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको वडा नं १,२,३,४,५ र ६ त्यसैगरी रामेछाप नगरपालिकाको वडा नं ७,८ र ९ मा गत दुईवर्षदेखी हरियाली प्रवर्धन लगायत वातावरण संरक्षणका काम गर्दै आएको छ । दुई नगरपालिकामा हरियाली प्रवर्धनका लागि परियोजनाले सञ्चालन गरेको कृषि वन नर्सरीबाट एक लाख २० हजार भन्दा बढी भुगोल सुहाउदो विरुवाहरु उत्पादन गरिएको परियोजनाकी वन संयोजक मनमाया मोक्तानले बनाउनुभयो । उहाँले मन्थली र रामेछाप नगरपालिकाको सुख्खा ग्रस्त ठाउँहरुको भौगोलिक अवस्थालाई हेरेर रैथाने विरुवाहरुलाई प्राथमिकता दिएर यी विरुवाहरु उत्पादन गरिएको बताउनुभयो । परियोजनाद्धारा सञ्चालित नर्सरीबाट उत्पादिन विरुवाहरु व्यक्ति, कृषि समुह, संस्थाहरुको माग निवेदनका आधारमा वितरण गरिने संयोजक मोक्ताने बताउनुभयो । उहाँका अनुसार परियोजनाबाट उत्पादित वन तर्फका विरुवाहरु कृषकले निशुल्क पाउने छन् भने कृषि तर्फका विरुवाका लागि २५ प्रतिशत रकम तिर्नु पर्ने छ । उत्पादिन नर्सरी बर्षादको समय असार साउनमा वितरण गरिने वातावरण संरक्षण परियोजना रामेछापले जनाएको छ ।
