शनिबारको मौसम पूर्वानुमानः हिमपात र वर्षको सम्भावना

  • प्रकाशित मिति: शनिबार, पुष १८ २०७७
  • तामाकोशी

काठमान्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान गरेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुसु–कुहिरो लागेको छ । दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।



सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।