अपाङ्गताको क्षेत्रमा योगदान गर्ने नयाँघरे सहित तीनजना सम्मानित

  • प्रकाशित मिति: बिहिबार, मंसिर १८ २०७७
  • तामाकोशी

रामेछाप । मंसिर १८ गते,
आज २९ औं विश्व अपाङ्ग दिवस रामेछापमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा मन्थली नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारका लागि उल्लेख्य योगदान गर्ने तीनजना ब्यक्तिहरुलाई सम्मान गरेको छ । नगरपालिकाले लामो समय देखि रामेछापमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनु भएका अपाङ्ग सचेतन केन्द्र रामेछापका अध्यक्ष पत्रकार बद्रि नयाँघरे सहित ३ जनालाई सम्मान गरेको हो । जिल्लामा रहेर लामो समय देखि अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारका लागि उल्लेख्य योगदान गरको भन्दै नयाँघरे सहित महिला उपहार मञ्च नेपालकी कोषाध्यक्ष गिता कुमारी कर्माचार्य र अपाङ्ग सचेतन केन्द्रकी सदस्य निर्माला कार्कीलाई नगरले सम्मान गरेको हो । उहाँहरुलाई मन्थली नगपालिका प्रमुख रमेश कुमार बस्नेतले दोसल्ला र प्रशंसापत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा नगरभित्रका विभिन्न वडाका ६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा (ब्ल्याङ्गकेट) र एक हजार नगद मन्थली नगरपालिकाकी उप प्रमुख माया कुमारी कार्कीले प्रदान गर्नुभएको छ । कार्यक्रममा नगर प्रमुख बस्नेतले आगामी दिनमा आवश्यक योजना , बजेट ल्याएर अपाङ्गताको क्षेत्रका थप प्रभवाकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।