बीबीसी । फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।
रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए। उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए।
म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए। आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।आफ्नो खेल करिअरको दोस्रो खण्डमा उनी कोकिनको लतमा परेर सङ्घर्ष गर्नु पर्यो। सन् १९९१ मा परीक्षणमा लागु पदार्थ पुष्टि भएपछि १५ महिना प्रतिबन्धमा परे।
व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए। सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए तर जर्मनीद्वारा क्वाटर फाइनलमा पराजित भएपछि सन् २०१० को विश्व कपपछि उनले त्यो जिम्मेवारी छाडदिए।