कोरोना भ्याक्सिन परीक्षण सफल हुनासाथ नेपाल ल्याइने

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २७ २०७७
  • तामाकोशी

काठमाडौँ । कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ ।

हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् । तेस्रो चरण सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको हो । नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीबारे गृहकार्य सुरु गरेको छ । खासगरी खोपको कोल्ड चेनलाई लिएर तयारी सुरु भएको हो । विश्वमा करिब २०० भन्दा बढी सम्भावित खोपको विकास र परीक्षण भएको छ । यसमध्ये ४७ खोप मान्छेमा परीक्षण भइरहेको छ । फाइजर र बायोएनटेक ग्रुपसहितको १० वटा खोप अन्तिम चरणमा पुगिसकेका छन् ।



डब्लूएचओका अनुसार विश्वका वैज्ञानिकहरू कोरोनाका लागि धेरै प्रकारका सम्भावित खोपहरू विकास गर्दै छन् । यी सबै खोप कोरोना भाइरसलाई सुरक्षित रूपमा पहिचान र अवरुद्घ गर्नका लागि शरीरको प्रतिरोधी प्रणाली सिकाउन डिजाइन गरिएका छन् । कान्तिपुरमा खबर छ ।