सरकारले सुनेन निमुखाको गुहारः रामेछापका सूर्य माझीको विदेशी दिनचर्या

  • प्रकाशित मिति: बिहिबार, भाद्र २५ २०७७
  • तामाकोशी

काठमाडौं, भदौ २५ गते । रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन्।
बजारमा माग नभएको कारण देखाउँदै कम्पनीले काम ब’न्द गर्दा यतिखेर माझीलाई बस्न र खानाको समस्या हुन थालेको छ। उनलाई कम्पनीले बस्दै आएको कोठा छिटो छाड्न भनिरहेको छ। ‘कम्पनीले काम रोकेलगत्तै घर फर्कन खोजिरहेको छु,’ उनले भने, ‘दुई महिनादेखि घर फर्कन हवाई टिकटको खोजीमा राजदूतावासदेखि ट्राभल एजेन्सीसम्म चहारिसकें तर उपलब्धि शून्यजत्तिकै छ।’
लामो समयदेखि घर फर्कन नपाउँदा एकातिर बेखर्ची भइरहेको र अर्कोतर्फ बस्दै आएको कोठाबाट जुनसुकै बेला निकालिने जोखिम बढेको उनको भनाइ छ। अहिलेसम्म पुरानो कमाइबाट जसोतसो गुजारा चलेको बताउने माझीले अब भने टिक्ने अवस्था नरहेको गुनासो गरे। साउदीकै रियादमा रहेका रौटहटका रिहान मन्सुरले पनि हवाई टिकट खोजी गर्न थालेको एक महिनाभन्दा बढी भइसकेको छ। उनले साथीभाइ र चिनेजानेकासँग सोधीखोजी गर्दा पनि टिकट फेला पार्न नसकेको बताए। कोरोना महामारीका कारण अघिल्लो महिनादेखि रोजगारी गुमेको उनको भनाइ छ। ‘मासिक एक हजार दुई सय रियाल (करिब ४० हजार रुपैयाँ) पारिश्रमिक पाउने रोजगारी गुमेपछि कतिखेर घर फर्कौं भइरहेको छ,’ उनले भने, ‘तर टिकट पाउन सकिएको छैन।’ मन्सुरले टिकट नपाउँदा कमाएको रकम साउदीमै सकिने गुनासो गरे। मलेसियामा रहेका पाँचथरका प्रणय लिम्बुले उद्धारका लागि सरकारी निकायलाई आग्रह गरेको दुई साता भइसक्यो। रोजगारी गुमाएपछि बेर्खर्ची भएका उनले तत्काल उद्धार गर्न त्यहाँस्थित नेपाली राजदूतावास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीलाई दैनिकजसो आग्रह गरिरहेका छन्। जति आग्रह गर्दा पनि कुन दिन फर्कन पाइन्छ भन्ने टुंगो नभएको उनको भनाइ छ।
दुबईमा रहेका पर्साका अरबिन्द साह पनि घर फर्कन नपाउँदा छटपटीमा छन्। एक महिनादेखि कामबिना बसिरहेको बताउने साहले चाँडो उद्धार नगरिए भोकभोकै मर्ने अवस्था आउने बताए। रेस्टुरेन्टमा काम गर्ने साहले रोजगारी गुमाएपछि बेखर्ची भएको बताए। सरकारले कोटा तोकेपछि यति खेर हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन। विदेशमा रोजगारी गुमाएपछि घर फर्कन चाहेर पनि नपाएर छटपटिँदै बसेका यी केही दृष्टान्त हुन्। सरकारले विदेशबाट आफ्ना नागरिक फर्काउन कोटा तोकेपछि हजारौं नेपाली विदेशमा अलपत्र परेका छन्। उनीहरुले दिनहुँजसो हारगुहार गरिरहेका छन् तर सरकारमा रहेकालाई सुन्ने फुर्सद छैन।
सरकारले विदेशबाट दैनिक आठ सयभन्दा बढी नेपाली फर्कन नपाउने नियम बनाएको छ। जब कि अन्तर्राष्ट्रिय हवाई उडान ब’न्द हुनुअघि दैनिक एक हजार पाँच सय नेपाली वैदेशिक रोजगारबाट घर फर्कने गरेको सरकारी तथ्यांक रहेको आजको नागरिक दैनिकमा खवर छ ।