रामेछाप । असार ३० गते,
रामेछापको मन्थली नगरपालिका वडा नं ११ गेलुकी कोरोना संक्रमण पुष्टि भएकी एक गर्भवती महिलाको परिवार सहित उनको सम्पर्कमा आएका २० जनामा कोरोना नेगेटिभ देखिएको छ । गर्भवती महिलामा पेट दुख्ने समस्या आएपछि केहिदिन अघि प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पुर्याएर गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको परिवार सहित उनको सम्पर्कमा आएका २० जनालाई क्वारेन्टिनमा राखी स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाईको थियो । विभिन्न समयमा गरी आएको सबै २० जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले कोरोना पुष्टि भएकी महिलाको परिवार सहित उनको सम्पर्कमा आएका सबै २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले संक्रमित महिलालाई काठमाडौं लाने एम्बुलेन्स तथा गाडी चालक र उनीहरुको परिवार सहितको पीसीआर परीक्षण गरिएको र सबैमा कोरोना नदेखीएको बताए । यो संगै रामेछापमा ५ सय ८ जनाको पीसीआर र ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । यस अघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना पनि कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २६ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ५८ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १२ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । उनले अहिले मन्थली नगरपालिकामा १७ , रामेछाप नगरपालिकामा २२ , उमाकुण्ड गाउँपालिकामा १० , खाँडादेवी गाउँपालिकामा १७ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ४ , लिखुतामाकोशी गाउँपालिकामा १४ र सुनापति गाउँपालिकामा ३ गरी जिल्लाभर ९७ जना क्वारेन्टिनमा रहेको पनि बताए । कोरोना भाइरसका कारण आउनसक्ने जोखिमतालाई मध्यनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको उनको भनाई छ ।रामेछाप जिल्लाको पछिल्लो कोरोना अपडेट हेर्नुहोस् ।
