सामाजिक अध्ययन भाग २

  • प्रकाशित मिति: आइतबार, असार २८ २०७७
  • तामाकोशी

धरातलिय स्वरुपको आधारमा नेपालको विभाजन
नेपाललाई धरातलिय स्वरुपको आधारमा हिमाल पहाड र तराई गरी ३ भागमा विभाजन गर्न सकिन्छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
हिमाली भेग
चाँदीका दन्तलहरझै लस्कार लागेका हिमचुचुरोहरुको छत्रछायामा रहेको सुन्दर भूगोल हो, नेपालको हिमाली क्षेत्र । पहाडबाट उपल्लोतिर उच्च भूबनोट अनि विश्वकै सर्वाेच्च शिर सगरमाथामार्फद नेपाली पहिचान र शानलाई विश्व सामु उद्घोष गर्ने तथा नेपालको गरिमालाई उँचो बनाउने क्षेत्र नै हिमाली प्रदेश हो ।
हिमाली प्रदेशको परिचय तथा जानकारीलाई देहायअनुसार संक्षेपमा प्रस्तुत गरिएको छः
भौगोलिक अवस्थितिः पहाडी प्रदेश भन्दा उत्तर र चीनको स्वशासित क्षेत्र तिब्बत भन्दा दक्षिणतर्फ अबस्थित छ।
उचाइगत अवस्थितिः समुन्द्र सतहबाट करिव ३००० मिटरदेखी ८८४८ मिटरको उचाइसम्म विस्तारित छ ।
लम्बाइः पुर्व पश्चिम लम्बाई ८०० कि.मि. रहेको छ ।
चौडाईः उत्तर दक्षिण चौडाई २५ देखि ५० कि.मि. सम्म रहेको छ ।
बर्गीकरणः सिमान्त, भित्री र मुख्य हिमाली क्षेत्र गरी तीन प्रकारमा छुट्याउन सकिन्छ ।
हावापानीः हिमाली प्रदेशको ५००० मिटरभन्दा माथि पाइने हावापानीलाई टुन्ड्रा हावापानी भनिन्छ ।
उद्गम स्थलको रुपमाः नेपालका प्रमुख नदिहरुको उद्गम स्थल यसै प्रदेशमा रहेको छ ।
उच्च हिमशिखरको थलोः विश्वका ८००० मिटरभन्दा माथि उचाइ भएका उच्च हिमशिखरहरु यसै प्रदेशमा पर्दछन् ।
स्थायी हिमरेखाः ४००० देखि ५००० मिटरसम्म स्थायी हिमरेखा रहेको छ अर्थात सदैव हिउँ जमिरहने हुन्छ ।
जनसंख्याः २०६८ सालको जनगणना अनुसार यस प्रदेशमा कुल जनसंख्याको ६.७३ प्रतिशत मानिस बसोबास गर्दछन् ।
जातजातिः शेर्पा, थकाली, भोटेजस्ता जातजातिहरुको प्रमुख बसोबास रहेको छ ।
धर्म संस्कृतिः मुलत बौध धर्मको प्राधन्यता रहेको छ । सोहि अनुसारको सास्कृतिक चाडपर्व मनाइन्छ ।
पेशाः मुख्य पेशा कृषि संगै हाल व्यापार र पर्यटन उद्योग पनि मुख्य पेशाको रुपमा विकास हुदै गएका छन् ।
जीवनशैलीः हावापानीको दृष्टिले स्वस्थकर नै तर विकासको दृष्टिले समिष्टमा पिछडिएकै छ ।
हिमाली भेगको बर्गिकरण
भूबनोटका आधारमा हिमाली भेगलाई तीन उपक्षेत्र वा उपभेगमा विभाजन गर्न सकिन्छः
क) सिमान्त हिमाली क्षेत्र
नेपालको उत्तरी सिमाना सम्म फैलिएको यस खण्डले सिमाकै काम गरेको छ । जुन मुख्य हिमाल श्रेणी भन्दा होचो रहेको छ ।
ख) भित्री हिमाली क्षेत्र
यो क्षेत्र ३००० मिटरदेखि ५००० मिटरसम्मको उचाइमा फैलिएको छ । यो सिमान्त हिमाली क्षेत्र भदा दक्षिण र मुख्य हिमाली क्षेत्र भन्दा उत्तरका विचमा समथर फाँटहरु युक्त भुभाग पर्दछ ।
ग) मुख्य हिमाली क्षेत्र
५००० मिटर देखी ८८४८ मिटरसम्मको उचाइको क्षेत्रलाई मुख्य हिमाली क्षेत्र भनिन्छ । विश्वका ८००० मिटरभन्दा माथिका धेरै हिमालहरु यहि पर्दछन् ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार नेपालका हिमाली जिल्लाहरु २० वटा रहेका छन् ।
हिमाली क्षेत्रका विशेषताहरु
नेपालको सबैभन्दा उत्तरी क्षेत्रमा अबस्थित छ ।
५००० मिटरमाथि सधै हिउ जम्ने हुँदा मानवरहित छ ।
वर्षा अत्यन्तै कम पर्ने तथा हिउको रुपमा हुने गर्दछ ।
नेपालको कुल क्षेत्रफलको करिब १५ प्रतिशत भुभाग ओगटेको छ ।
यहाँ कुल जनसंख्याको ६.७३ प्रतिशत ०६८ को जनगणना अनुसार मानिसहरु बसोबास गर्दछन् ।
यस क्षेत्रको बार्षिक जनसंख्या बृद्धिदर ०.५४ प्रतिशत रहेको छ ।
मुख्य पेशा कृषि र संगसंगै पर्यटकिय क्षेत्रमा पर्यटन व्यवसाय पनि मुख्य पेशा बन्न गएको छ ।
अत्यन्तै चिसो मौसमका कारण यहाँका मानिसहरुले न्यानो र बाग्लो कपडाहरु लगाउछन् ।
यहाँ शेर्पा, भोटे थकाली मनाङ्गी आदि जातजातिहरुको मुख्य बसोबास रहेको छ ।
यस प्रदेशलाई भुबनोटको दृष्टिकोणले सिमान्त क्षेत्र, भित्री हिमाली क्षेत्र तथा मुख्य हिमाली क्षेत्रमा विभाजन गर्न सकिन्छ ।
–हेमराज तामाङ
खरिदार सुमार्गदर्शन