नेपालको भौगोलिक अवस्थितिः प्रकृतिको सुन्दर उपस्थिति

  • प्रकाशित मिति: शनिबार, असार २७ २०७७
  • तामाकोशी

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपाल बहुआयामिक गुणले परिपुर्ण रहेको छ । प्रकृतिको सुन्दर बनोटले सजिएको छ । भौगोलिक विविधता यसको अनुपम सम्पदा हो । विश्वको उच्चतम हिमशिखर सगरमाथा नेपालको पहिचान र शान हो । पुर्व पश्चिम फैलिएको नेपाल खुँडा आकारमा रहेको छ ।
पृथ्वीको उत्तरी गोलाद्र्धमा अबस्थित तथा भुपरिवेष्ठित मुलुक हो नेपाल । यसको वर्तमान भौगोलिक सिमाना सुगौली सन्धि सन् १८१६ मार्च ३ बाट कायम हुन आएको हो । यसमा नयाँ मुलुक समेत पछि समावेश भएको छ । नेपालको भौगोलिक अवस्थिति सम्बद्ध अन्य विषयहरुलाई देहायअनुसार उल्लेख गर्न सकिन्छः
दक्षिण एसिया महादेशमा पर्दछ । विश्वको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत र दक्षिण एसियाको ३ प्रतिशत भूगोल ओगटेको छ । पुर्वमा मेची पश्चिममा महाकाली, उत्तरमा तिब्बत र दक्षिणमा भारत सिमाना रहेको छ । सर्वोच्च सगरमाथा ८८४८ मिटर र धनुषाको मुसहरनिया ५९ मिटर जस्तो उचाइगत विविधता रहेको छ । दक्षिणको हिन्द महासागरस्थित बंगालको खाडीबाट करिब ११२७ कि.मि. ७०० माइल टाढा रहेको छ । नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. अर्थात ५६८२७ वर्ग माइल रहेको छ । यसको लम्बाइ ८८५ कि.मि. र चौडाई बढीमा २४१ कि.मि. र घटिमा १४५ कि.मि. तथा सरदर १९३ कि.मि. रहेको छ । नेपालको निकटतम छिमेकी देश भारत नेपाल भन्दा २२ गुणा ठुलो र चीन नेपाल भन्दा ६५ गुणा ठुलो रहेको छ ।
नेपालको भौगोलिक अबस्थालाई हिमाल, पहाड र तराइ गरी ३ प्रदेशमा विभाजन गरिएको छ । देशान्तरको हिसावले नेपाल ८० डिग्री ४ मिनेट पुर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पुर्वी देशान्तर सम्म र अक्षांशका हिसावले नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको विचमा अवस्थित रहेको छ । नेपाल ० डिग्री भन्दा कम तथा ४५ डिग्री भन्दा माथि जाने तापक्रमयुक्त विषम हावापानी भएको भौगोलिक विषमतायक्त मुलुकको रुपमा चिनिन्छ । यसरी समग्रमा नेपालको भौगोेलिक अवस्थिति विचित्रता र विशिष्टताको युक्त रहेको छ । सामाजिक, भौगोलिक र प्राकृतिक सम्पदाको रहरलाग्दो संयोजन रहेको छ । प्रकृतिको विछट्ट बनोट, भूगोलको अद्धितीय संरचना र संस्कृतिको विविधताले एउटा मौलिक प्रकृतिको भूराजनितिक अबस्था नेपालको पहिचान बन्न पुगेको छ ।
विश्वको मानचित्रमा नेपाल
विश्व मानचित्रमा नेपाल भन्नाले नेपाल विश्वको नक्शामा अर्थात विश्वसमुदायमा नेपालको चिनारी भन्ने बुझिन्छ । विश्व समाजमा नेपालको पहिचान र परिचयको विषय नै विश्व मानचित्रमा नेपाल हो । विकासमा विपन्नताको सुचीमा रहदै अति कम विकसित राष्ट्रका रुपमा रहे पनि यो अन्य प्रशस्तै कोणबाट भने विशिष्ट चिनारी कायम गर्न सफल रहेको छ । विश्व मानचित्रमा नेपालको अवस्थालाई देहायको विषयहरुबाट बुझिन्छः
विश्वशान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मभूमि
शान्तिप्रिय देश असंलग्नता
भूपरिवेष्ठित मुलुक
अद्धितिय प्राकृतिक सम्पदाको देश
सांस्कृतिक विविधताको देश
सर्वाेच्च शिखर सगरमाथाको देश
वीरहरु गोर्खाली को देश ।

-हेमराज तामाङ
खरिदार सुमार्गदर्शन