रामेछाप । असार २७ गते,
रामेछाप जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएका छन् । पटक पटक गरी भारत लगायत विभिन्न ठाउँबाट आएका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले शनिबार लिखुतामाकोशी गाउँपालिकाको आइसोलेशन कक्षमा उपचाररत ३ जनामा कोरोना निको भएसंगै जिल्लाका २३ जनै कोरोनामुक्त भएको बताए । उनले कोरोना निको भएका सबैजनालाई डिस्चार्ज गरिएको बताए । कर्णका अनुसार अहिले मन्थली नगरपालिका गेलुकी एक गर्भवती महिला सहित विभिन्न स्थानमा गरिएको स्वाब परीक्षणमा संक्रमण पुष्टि भएका रामेछाप स्थायी घर भएका तीन जनाको उपचार भैरहेको छ । यसअघि विभिन्न समयमा गरी मन्थली नगरपालिकामा २ जना , गोकुलगंगा गाउँपालिकामा ११ जना र लिखुतामाकोशी गाउँपालिकामा १० जना गरी २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म ५ सय ८ जनाको पीसीआर विधि र ८ सय ९२ जनाको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ६५ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने २० जनाको रिपोर्ट आउँन बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ९३ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ५३ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ९१, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा १० र जिल्ला अस्पतालमा २६ जनाको पीसीआर परीक्षणका गरिएको छ । शुक्रबार मन्थली नगरपालिकाका २० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईको स्वाथ्य कार्यालयले जनाएको छ । यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय १३ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ७ र पुरुष १ सय ६ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा १९ , रामेछाप नगरपालिकामा १७ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ४ , खाँडादेवी गाउँपालिकामा १७ , सुनापति गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३३ जना गरी १ सय १४ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ८९ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्
