रामेछाप । असार २३ गते,
रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा एमभी दुगड ग्रुपले विभिन्न बैँक र वित्तीय संस्थाको लगानीमा तीनवटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ती आयोजनामा कुल १ सय ५७ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम भइरहेको छ । लिखु ए, लिखु–१, २ मा एमभी दुगडको करिब २१ अर्ब रुपैँया लगानी हुँदैछ । निर्माणाधीन ‘लिखु ए’ जलविद्युत आयोजनाबाट २९.०४ मेगावाट, लिखु १ बाट ७७ मेगावाट, र लिखु २ बाट ५५ मेगावाट विद्युत उत्पादन हुनेछ । सो आयोजनाले नेपाल सरकार र स्थानीयसँग भएका सहमति अनुसार काम नगरेपछि स्थानीय सरकार र स्थानीयवासी तथा आयोजना बीचको विवाद भने उत्कर्षमा पुगेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरु , पालिका स्तरीय विभिन्न राजनैतिक दल र स्थानीयवासीले नेपाल सरकार र स्थानीयसँग भएको सहमति कार्यान्वयन गरेर सामाजिक उत्तरदायीत्व अन्तर्गत खर्च भएको वास्तविक हिसाब सार्वजनिक नगरेसम्म आयोजनाको काम अघि बढाउन नदिने चेतावनी दिएका छन् । एमभी दुगड ग्रुपको दादागिरी र हेपाहा प्रवित्तिले अन्य जनप्रतिनिधि जस्तै वडा नं ३ का वडाध्यक्ष रमेश कुमार सुनुवार पनि आजित भएका छन् । उनले जलविद्युत आयोजनाका कारण उब्जिएका समस्या समाधानका लागि धेरै प्रयास गरिएपनि केहि हुन नसकेको भन्दै अबको जलविद्युत आयोजना संगको लडाई नागरिक अधिकारको लडाईं भएको बताएका छन् । अध्यक्ष सुनुवारले गाउँपालिकाका २५ हजार नागरिकको जीवनमाथि खेलबाड गर्ने आयोजना आवश्यक नरहेको बताए । आयोजना यही हिसाबले चले अघि बढ्न नदिने बताउँदै उनले अहिलेसम्म भएको लगानीको हिसाब फिर्ता लिएर बाहिरिन आयोजनालाई सुझाव दिए । ‘आयोजनाको अहिलेसम्म लगानी कति भयो , हिसाब गरौं, लगानी रकम लिएर आयोजना फिर्ता जाओस्, बाँकी काम स्थानीय सरकार र जनताले अघि बढाउँछौ वडाध्यक्ष सुनुवारले भने । आयोजनाले निर्माणको अन्तिम चरणमा पुग्दासम्म स्थानीय समुदायसँग एकपटक पनि छलफल नगरेको उनको गुनासो छ । उमाकुण्ड गाउँपालिकाका कुनैपनि जनप्रतिनिधिहरु विकास विरोधी नभएको तर विकासका नाममा कसैले विनाश गर्छ र गाउँगाउँमा आतङ्क मच्चाउँछ भने त्यो आफुहरुलाई स्वीकार्य नहुने उनको भनाई छ । उनले जलविद्युत आयोजनासंग आवश्यक छलफल तथा परामर्श गर्न प्रयाप्त प्रस्तावरु राख्दा समेत त्यसको वेवास्ता गरी आयोजना चोर बाटोमा लागेकाले आफुहरु नागरिकको पीडालाई कम गर्न र नागरिकको मागलाई जसरी पनि पुरा गर्ने लडाईमा लागेको बताए । उनले आयोजनाले अहिलेसम्म समुदायसंग कुनै पनि छलफल नगरेको भन्दै छलफल गरेको भए प्रमाण देखाउँन समेत आयोजनालाई चुनौती दिए । वडाध्यक्ष सुनुवारले नितान्त आयोजनाको स्वार्थ पुरा गर्नका लागि सोझा सिदा नागरिकहरुलाई पहिला विभिन्न प्रलोभन देखाउने र त्यसमा नमाने धाक धम्की दिएरै भएपनि हाइटेनशन लाइनको काम गरिरहेको दाबि गरे । जलविद्युत आयोजनाले गरेको अत्याचार सहन नसकेर पीडाले व्याप्त भएका नागरिकहरुको पीडा बोल्दा आफुहरुमाथि विभिन्न आक्षेपहरु लाग्ने गरेको उनले बताए । कसले के आक्षेप लगाउँछ त्यसको कुनै मतलब नगरी अहिले आफुहरु नागरिक अधिकारको लडाईमा रहेको उनको भनाई छ ।
विकासका नाममा हुने विनाश र आतङ्क स्वीकार्य छैन : वडाध्यक्ष सुनुवार
- प्रकाशित मिति: मंगलबार, असार २३ २०७७
- तामाकोशी