वैदेशिक व्यापारको परिचय र कार्यक्षेत्र उल्लेख गर्दै वैदेशिक व्यापार प्रवद्र्धनमा रहेका समस्या र समाधानका उपाय लेख्नुहोस् । २+२+३+३=१०

  • प्रकाशित मिति: बुधबार, असार १७ २०७७
  • तामाकोशी

वैदेशिक व्यापार
पुँजी, प्रविधि, वस्तु र सेवाको सीमापार खरिद–बिक्री एवं प्रवाहलाई अन्तर्राष्ट्रिय वा वैदेशिक व्यापार भनिन्छ । विश्वका प्रायः सबै मुलुकको कुल गार्हस्थ उत्पादनमा व्यापारको ठूलो हिस्सा रहेको हुन्छ । परापूर्वकालदेखि नै अन्तर्राष्ट्रिय व्यापारको विभिन्न रूपहरू अभ्यासमा आएको पाइन्छ । व्यापारलाई विकासको एक आयामका रूपमा हेर्ने गरिएको छ । मुलुकको निर्यात व्यापार प्रवद्र्धन, आयात प्रतिस्थापन र उत्पादनका साधनको उच्चतम उपयोग सुनिश्चित गरी विकास र समृद्धि हासिल गर्नु वैदेशिक व्यापारको मुख्य उद्देश्य रहेको हुन्छ । व्यापारमैत्री वातावरणको निर्माण एवं विकास र प्राथमिकतामा रहेका निर्यातयोग्य वस्तु र सेवाको मूल्य शृंखला सुदृढीकरण गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा निर्यात व्यापारको योगदान अभिवृद्धि गर्नु वैदेशिक व्यापारको अभीष्ट हो ।
वैदशिक व्यापारको कार्यक्षेत्र
व्यापार विकाससँग सम्बन्धित बहुआयामिक विषय क्षेत्र हो । उत्पादनको साधन, जनशक्ति, पुँजी, शासकीय क्षमता र समग्र आर्थिक व्यवहारले निर्यात व्यापारमा प्रभाव पार्ने हुनाले निर्यात व्यापारको विकास र विस्तारमा बहुक्षेत्रको भूमिका रहेको हुन्छ । वैदेशिक व्यापारका रणनीतिले देहायका क्षेत्र समेटेको पाइन्छः
अन्तर्राष्ट्रिय वार्तालगायतको व्यापारसम्बन्धी शासकीय क्षमता,
व्यापार र लगानीमैत्री सुरक्षित वातावरण,
व्यापार र पारवहन सुविधा,
प्रतिस्पर्धी मानक र प्राविधिक नियमन,
स्यानिटरी र फाइटोस्यानिटरी मापदण्ड,
बौद्धिक सम्पत्ति अधिकार,
सेवा व्यापार (खासगरी पहिचान गरिएका तीन क्षेत्र),
सम्भावित निर्यात क्षेत्र र वस्तुहरू (नेपालको सन्दर्भमा विभिन्न ९ वस्तु पहिचान गरिएको)
वैदेशिक व्यापारसम्बन्धी समस्या
संवैधानिक, कानुनी र नीतिगत एवं संरचनागत व्यवस्थाका बाबजुद नेपालको वैदेशिक व्यापार चिन्ताजनक अवस्थामा रहेको छ । पछिल्लो पाँच वर्षमा वस्तु आयात झन्डै दोब्बर भई १२.४ खर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा वस्तु निर्यात ९२ अर्बबाट घटेर ८१ अर्ब रुपैयाँमा झरेको छ । मूलतः निर्यातको आधार विस्तार हुन नसकी आयातमा ठूलो चाप परेको अवस्था विद्यमान छ । वैदेशिक व्यापारसम्बन्धी समस्या देहायबमोजिम बुँदागत रूपमा प्रस्तुत गरिएको छः
अर्थतन्त्रको विकास र मोडलमा अस्पष्टता रहनु,
राजनीतिक र शासकीय क्षमता कमजोर रहनु,
व्यापारको बहुआयामिक पक्षको उचित सम्बोधन नहुनु,
सम्बद्ध मन्त्रालय तथा निकायबीच सहकार्य र समन्वय नहुनु,
घरेलु उत्पादन र उत्पादकत्व न्यून रहनु,
आर्थिक कूटनीति प्रभावकारी नहुनु,
अतिकम विकसित राष्ट्रको हैसियतले प्राप्त हुने छुट र सुविधा उपयोग गर्न नसकिनु,
साफ्टा र बिमस्टेकको उपयोग प्रभावकारी नहुनु,
सहुलियतपूर्ण बजार पहुँच उपयोग गर्न नसक्नु,
औद्योगिक उत्पादन क्षेत्र कमजोर रहनु,
तुलनात्मक र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको आन्तरिक उत्पादन वृद्धि नहुनु,
कृषि क्षेत्रको उत्पादनको आधुनिकीकरण र विविधीकरण हुन नसक्नु,
कम गुणस्तर र स्वास्थ्यलाई हानि पुग्ने वस्तुको आयात नियमन गर्न नसक्नु,
निर्यात व्यापार सहजीकरण गरी निर्यात प्रवद्र्धन हुन नसक्नु,
निजी क्षेत्रको योगदानलाई पर्याप्त समेटिनु,
वैदेशिक व्यापार प्रवद्र्धनका उपाय
वैदेशिक व्यापार प्रवद्र्धनमा रहेका समस्या समाधान गर्न निम्न उपाय महत्वपूर्ण हुने देखिन्छः
सबै राष्ट्रिय तथा क्षेत्रगत नीति, योजना र कार्यक्रममा उत्पादन वृद्धि, बजारीकरण, निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन तथा आयात व्यवस्थापन गर्ने विषयलाई प्राथिमकता दिने,
निर्यातजन्य ओद्योगिक र कृषि उत्पादनमा विशेष जोड दिने,
उत्पादनशील क्षेत्रको पूर्वाधार विकासमा विशेष कार्यक्रम लागू गर्ने
द्विपक्षीय र बहुपक्षीय सन्धि–सम्झौता र सहमतिको कार्यान्वयनका लागि आर्थिक कूटनीतिक क्षमता विकास गर्ने,
विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र र निर्यात प्रवद्र्धन क्षेत्रहरूको स्थापना गर्ने,
गुणस्तर र प्रमाणीकरण क्षमता सुदृढ गर्ने,
व्यापार सहजीकरणका उपाय अवलम्बन गर्ने,
शासकीय सुधार र क्षमता विकास गर्ने,
सुशासन र सदाचारिता प्रवद्र्धन गर्ने,
पहिचान गरिएका समस्याहरूको छुट्टाछुट्टै कार्ययोजना बनाई नतिजामुखी तवरले कार्यान्वयन गर्ने ।
अन्तमा
समग्र अर्थतन्त्र र निर्यात व्यापारको संरचनागत र प्राविधिक समस्याका कारण नेपालको निर्यात व्यापारको मुख्य सूचक व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेको छ । व्यापारको सामान्य सिद्धान्तअनुसार पनि गुणस्तरीय र प्रतिस्पर्धी वस्तु तथा सेवाको उत्पादन पूर्वसर्त हो । त्यसैगरी वस्तु र सेवा व्यापारको अन्तर्राष्ट्रिय जालोमा सदृश्य उपस्थिति र सार्थक प्रयासविना वैदेशिक व्यापारको लाभ मुलुकले लिन सक्दैन ।
नारायणप्रसाद दुवाडी सहसचिव