तत्काल थप १० ठाउँबाट पीसीआर परीक्षण गर्ने व्यवस्था हुन्छ : स्वास्थ्य राज्यमन्त्री राउत

  • प्रकाशित मिति: मंगलबार, असार २ २०७७
  • तामाकोशी

रामेछाप । असार २ गते,
नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज राउत कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर रुपमा लागेको बताएका छन् । उनले सरोकारवाला सबैले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले बनाएको मापदण्डलाई पालना गरी आवश्यक कामकारवाही गरे संक्रमण फैलन नसक्ने बताए । कोरोना नियन्त्रण तथा रोकथामका लागि भएका कामको अनुगमन गरी आवश्यक निर्देशन दिन मंगलबार रामेछाप सदरमुकाम मन्थली आएका राज्यमन्त्री राउतले सरकारले कोरोना परीक्षणको दरलाई बढाउनका लागि आवश्यक तयारी गरिरहेको बताए । उनले अहिले नेपालमा २० ठाउँबाट पीसीआर परीक्षण भैरहेकोमा अब तत्काल १० ठाउँमा थप गरी ३० ठाउँबाट पीसीआर परीक्षण गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढिसकेको बताए । भारतबाट नागरिकहरु नेपाल आउने क्रम जारी रहेकाले नेपालमा संक्रमितको संख्या बढेको उनको भनाई छ ।
यसअघि राज्यमन्त्री रावलाई जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापकी संयोजक एवं रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछापमा कोरोना रोकथामका लागि अपनाइएको आवश्यक सतर्कता र योजनाका बारेमा जानकारी गराएकी थिइन । यस्तै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले पनि विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को नियन्त्रणका लागि जिल्लामा भएका कामका बारेमा बोल्दै आवश्यक सहयोगका लागि संघिय सरकारसंग आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा जिल्ला स्थित सम्पूर्ण राजनीतिक दल, पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता छ ।