रामेछाप । जेठ २९ गते,
कोरोना भाइरस कोभिड १९ पुष्टि भएपछि जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा उपचार गराइरहेका एक संक्रमितलाई थप उपचारका लागि पाटन अस्पताल रिफर गरिएको छ । जिल्ला अस्पताल रामेछापले बिहिबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका पुरुषको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि पाटन अस्पतालमा रिफर गरिएको जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डा. आनन्द प्रसाद आचार्यले प्रकाशन गरेको विज्ञप्तिमा जिल्ला अस्पतालको आइसोलेशनमा बसेका कोरोना संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जना मध्ये लिखुतामाकोशी गाउँपालिका वडा नं ७ ठेगाना भएका २६ वर्षका पुरुषलाई आइसोलेशनमा आएकै दिनदेखी ज्वरो आएको र हालसम्म उपचार गर्दा समेत ज्वरो कम हुन नसकेपछि श्री पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान , पाटन अस्पतालमा रिफर गरी पठाइएको व्यहोरा जानकारी गराउदछौं भनिएको छ । यसअघि जेठ २३ गते शुक्रबार भारतको विभिन्न स्थानबाट र नेपालको नवलपरासी र रौतहट जिल्लाबाट आएर गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका सबै जिल्ला अस्पतालको आइसोलेशनमा बसेका थिए ।
हेर्नुहोस् जिल्ला अस्पताल रामेछापले जारी गरेको प्रेस विज्ञप्ति
