रामेछापमा १ सय ३२ जना क्वारेन्टिनमा, ३२ जनाको पीसीआर रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २८ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २८ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय ३२ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको हो । बुधबारसम्म उमाकुण्ड गाउँपाकिलामा २५ , मन्थली नगरपालिकामा ३३ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा २५ , सुनापति गाउँपालिकामा २ , दोरम्बा गाउँपालिकामा ९ र लिखुतामाकोशी गाउँपालिकामा १९ जना गरी १ सय ३२ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
कर्णका अनुसार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ३ सय ६१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
यस्तै जिल्लामा ३२ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । १ सय ५० जनाको स्वाब संकलन गरी पठाइएकोमा १७ जनाको पोजेटिभ आएको छ । १ सय १ जनाको नेगेटिभ रिपोर्ट आएको र ३२ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । उनका अनुसार हालसम्म मन्थली नगरपालिमा ४४ , रामेछाप नगरपालिमा ३१ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १० , लिखुतामाकोशी गाउँपालिमा १८ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ३१ जनाको रिपोर्ट आउन बाँकि छ । जिल्लामा अहिलेसम्म ८ सय ८२ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लाको कुन स्थानीय तहको अवस्था कस्तो छ हेर्नुहोस्