रामेछाप । जेठ २५ गते,
शुक्रबारदेखी फरार रामेछापका एक कोरोना संक्रमित अझै बेपत्ता छन् । संक्रमण पुष्टि भएपछि फरार भएका गोकुलगंगा गाउँपालिकाका दुई जनामध्ये एक जनालाई प्रहरीले फेला पार्न अझै सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले आइतबार साँझ ५ बजेसम्म फरार भएका संक्रमित व्यक्तिलाई फेला पार्न नसकिएको बताए । प्रहरीले संक्रमित व्यक्ति भागेर लुक्न सक्ने ठाउँहरुको पहिचान गरी सुक्ष्म रुपमा खोजी गरिरहेकाले चाडै फेला पर्ने उनको भनाई छ ।
शुक्रबार गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । यसमध्ये गोकुलगंगा गाउँपालिका दुई जना संक्रमित फरार भएका थिए । फरार दुईजनामध्ये एक जना फेला परिसकेका छन्। गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्क बहादुर सुनुवारले भारतबाट आएर क्वारेन्टिनमा बसेकालाई पीसीआर रिपोर्ट आउनुअघिनै घर पठाएका थिए । तर घर पठाइएकाहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि दुईजना फरार भएका थिए । अहिले संक्रमण पुष्टि भएका १७ मध्ये १६ जना जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
गोकुलगंगाका एक कोरोना संक्रमित अझै बेपत्ता
- प्रकाशित मिति: आइतबार, जेष्ठ २५ २०७७
- तामाकोशी