रामेछाप । जेठ २२ गते,
रामेछापमा थप तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको आइसोलेशनमा बसेका तीन जनाको पीसीआर प्रविधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वाथ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । गत शनीबार जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा भर्ना भएकी मन्थली नगरपालिका वडा नं ७ की ३२ वर्षीया , ठेगाना नखुलेकी ४८ वर्षीया महिला र रामेछाप नगरपालिका वडा नं ८ का ७० वर्षक एक पुरुषको स्वाब पीसीआर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । सबैको बुधबार दिउँसो नेगेटिभ रिपोर्ट आएसंगै उनीहरुलाई अस्पतालबाट बुधबारनै डिस्चार्ज गरिएको जिल्ला अस्पताल रामेछापले एक विज्ञप्ति मार्फत जनाएको छ ।
यो संगै रामेछापमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्नेको संख्या ५० जना पुगेका छन् । अहिलेसम्म जिल्लाबाट कोरोना आसंकामा परीक्षणका लागि पठाइएका कुनैपनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन । हालसम्म जिल्लामा ८ सय ४८ जनाको आरडीटी र ५० जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपार्ट नेगेटिभ आएको छ । रामेछापमा गत वैशाख २ गते सोमबारबाट आरडीटी परीक्षण सुरु भएको थियो ।
