स्वाब पठाएको पाँच दिनसम्म रामेछापका ६ जनाको पीसीआर रिपोर्ट आएन

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १३ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १३ गते,
रामेछाप जिल्लामा आरडिटी पोजेटिभ आएका ६ जनाको पीसीआर रिपोर्ट अझै आएको छैन । गत शुक्रबार आरडिटी विधिबाट गरिएको कोरोणामा पाँच जना र शनिबार फेरी थप एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो । आरडिटी पोजेटिभ आएका पाँच जनाको शुक्रबार र एक जनाको शनिबार पिसिआर विधिबाट कोरोणा परीक्षण गर्न स्वाब संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । त्यसको रिपोर्ट अझै आएको छैन । तर पाँच दिनसम्म पनि रिपोर्ट नआउदा जिल्ला बासी थप चिन्तित बनेका छन् । जिल्ला सदरमुका मन्थली लगाएत सिङगो जिल्लानै राम्रो रिपोर्ट आउने प्रतिक्षामा छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले स्वाब पठाइएको अस्पतालमा परीक्षण गर्नेहरुको चाप बढि भएको जानकारी आएकाले रिपोर्ट आउने समय बारे अहिले भन्न नसकिने बताए । गत शुक्रबार मन्थली नगरपालिकामा ४ जना र सुनापति गाउँपालिका एक जना र शनिबार मन्थली नगरपालिकामा एक जनाको आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । २०७७ जेठ १२ गते सोमबारसम्म जिल्लामा ७३७ आरडिटी र ३५ पिसिआर परीक्षण गरिएको छ । जिल्लामा गएको वैशाख २ गते सोमबारदेखी आरडिटी परीक्षण सेवा सुरु भएको थियो थियो ।