रुसमा कोरोनाको भयानकः२४ घण्टामा थपिए ११ हजार बढि संक्रमित

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३० २०७७
  • तामाकोशी

एजेन्सी ।
रुसमा पछिल्लो २४ घण्टामै कोरोनाभाइरसका ११ हजार ६ सय ५६ संक्रमित थपिएका छन्। यो सँगै त्यहाँ सोमबार साँझ साढे ६ बजेसम्ममा कूल संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ।
एकैचोटि हजारौंको संख्यामा संक्रमित थपिएपछि रुस विश्वभरिमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये तेस्रो नम्बरमा उक्लिएको छ। सूचीमा अगाडि रहेका बेलायत र इटालीलाई रुसले पछि पारेको छ।
रुसमा कूल संक्रमितमध्ये हालसम्म २ हजार ९ जनाको निधन भएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ९४ जनाको ज्यान गएको हो। त्यहाँ संक्रमितमध्ये ३९ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएका छन्।
कोरोना महामारी सबैभन्दा बढी फैलिएको अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार ९ सय नाघिसकेको छ। त्यहाँ पछिल्लो २५ घण्टामै ३ सय २५ नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा संक्रमणका कारण हालसम्म ८० हजार ७ सयभन्दा बढीको निधन भइसकेको छ भने २ लाख ५६ हजार ३ सय ३६ जना निको भएका छन्। यस्तै, संक्रमणबाट दोस्रो बढी प्रभावित मुलुक स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८० नयाँ संक्रमित थपिंदा कूल २ लाख ६८ हजार १ सयभन्दा बढीमा संक्रमण देखिएको छ। त्यहाँ कोरोना संक्रमणबाट २६ हजार ७ सय ४४ जनाको निधन भइसकेको छ, जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १ सय २३ जनाको ज्यान गएको हो।