काठमाडौं । बैशाख २१ गते,
बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् । १९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगेटिभ आएको छ । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो,एकै दिन १० जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: आइतबार, बैशाख २१ २०७७
- तामाकोशी