रामेछापका क्वारेन्टिन र आइसोलेसनको गुणस्तर सुधार गर्नु पर्ने

  • प्रकाशित मिति: सोमबार, बैशाख १५ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १५ गते,
रामेछापमा कोरोना भाइरस नियन्त्रणको लागि निर्माण गरिएका क्वारेन्टिन र आइसोलेसन कक्षको गुणस्तरमा सुधार गर्नु पर्ने देखिएको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले मानवअधिकार संरक्षण सञ्जालका प्रतिनिधि समेतको सहभागितमा गरेको स्थलगत अवलोकनको क्रमममा सो कुरा देखिएको हो । जिल्लामा बनाइएका क्वारेन्टिनमा निम्नतम मापदण्डहरु पुरा हुन नसेको पाइएको अनुगमनका क्रममा जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर आनन्द आचार्यले बताए । क्वारेन्टिनमा कम्तिमा पनि तीन फिटको अन्तरमा ओछ्यान हुनु पर्ने तथा प्रत्यक व्यक्तिले अलग अलग प्रयोग गर्ने सामाग्रि हुनु पर्ने उनले बताए । यसैगरि आइसोलेसनमा अक्सिजन, चेञ्जिङ रुम लगायतको व्यवस्था हुनु पर्ने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा गएको टोलीले खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाले गरेको पूर्वयतायारीको अवस्थाको बारेमा जानकारी लिएको थियो । सुरक्षा अधिकारी, स्वास्थ्य कार्यालयका अधिकारहरु तथा अधिकारकर्मी समेतको टोलीले सो क्रममा गाउँपालिकामा भइरहेको कामको बारेमा जानकारी लिएको थियो । सो क्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाले अब लकडाउनलाई अलग किसिमले लैजान लागेको बताए । उनले स्वास्थ्य स्वयम्सेवीका मार्फत गाउँमा सोचतनाको काम भएको बताउँदै अब कृषिक्षेत्रमा काम गर्न उत्प्रेरित गर्ने गरी काम गरिने बताए ।
सुनापति गाउँपालिका प्रमुख धाव लामाले सहरका मानिसहरु एकैपटक गाउँ भित्रदा रोगसंगै भोक समेत भित्रने खतरा बढेको बताए । त्यसैले सहकारी संस्थाहरु मार्फत मकै र धान खरिद गरि सुपथ मुल्यामा बिक्रि गर्ने व्यवस्था मिलाईएको उनले बताए । टोलीले २ वटै गाउँपालिकाम निर्माण गरिएका क्वारेन्टिन कक्ष तथा आइसोलेसन कक्षको समेत अवलोकन गरेको थियो । अवलोकन पछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पालिकाहरुले व्यवस्थापनको लागि निक्कै राम्रो प्रयास गरेको बताइन् । अझै पनि क्वारेन्टिन र आइसोलेसनको सुधारको लागि काम गर्नु पर्ने उनको भनाई छ । रामेछाप जिल्ला रहेका ८ वटा पालिकामा अहिलेसम्म ३ सय ३१ सैयाका क्वारेन्टिन र ६१ सैयाका आइसोलेसन कक्ष स्थापना गरेका छन् ।