रामेछाप । वैशाख १३ गते,
जिल्ला अस्पताल रामेछापमा कोरोना भाइरस (कोभिड–१९) को स्वाब परिक्षण बुथको व्यवस्था गरिएको छ । नेपाल ईन्जिनियर्स एशोसियसन बागमती प्रदेशले नोवेल कोरोना भाइरस कोभिड १९ को आशंकितको परिक्षण गर्न स्वाब संकलनमा प्रयोग हुने बुथको व्यवस्था गरिदिएको हो । नेपाल ईन्जिनियर्स एशोसियसन बागमती प्रदेश कार्यकारिणी समितिले निर्माण गरेको एक थान स्वाब संकलन बुथ रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा मार्फत जिल्ला अस्पताललाई शुक्रबार हस्तान्तरण गरिएको हो । विश्वभर महामारीका रुपमा फैलिरहेको संक्रामक रोग कोरोना भाइरस नियन्त्रणको लागि अग्रपंत्तिमा रहेका स्वास्थ्यकर्मीको सुरक्षाको निर्माण गरिएको स्वाब संकलन बुथले स्वास्थ्यकार्मीलाई काम गर्न सहज हुने नेपाल ईन्जिनियर्स एशोसियसनले जनाएको छ । स्वाब संकलन बुथ नेपाल ईन्जिनियर्स एशोसियसन बागमती प्रदेश कार्यकारिणी समितिका सदस्य ईन्जिनियर सरोज कार्की सहितको टोलीले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
