रामेछापमा पहिलो र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: मंगलबार, बैशाख २ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २ गते,
रामेछाप जिल्लामा गरिएको पहिलो र्यापिड टेष्ट रिपोर्ट नेगटिभ देखिएको छ । जिल्लाको मन्थली नगरपालिकामा एजनामा र्यापिड टेष्ट गरिएको र सो व्यक्तिको परिक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गर्ने र यसमा कसैलाई पोजेटिभ देखिए पीसीआर प्रविधिबाट परीक्षण गर्ने गरी सोमबारबाट र्यापिड परिक्षण सुरु गरिएको बताए । जिल्लाका ७ वटा स्थानीय तहमा मंलबारबाट र्यापिड टेष्ट सुरु हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । शर्माका अनुसार, क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेका व्यक्तिहरूमा यो परीक्षण गर्न लागिएको हो । परीक्षणका लागि ३ जना प्राविधिकहरू परिचालन गर्ने निर्णय भएको छ । मन्थली नगरपालिकामा वैशाख ७ गतेसम्म परीक्षण गर्ने तयारी छ । त्यसैगरी, रामेछाप नगरपालिकामा वैशाख २ र ३ गते, खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते तथा दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते परीक्षण गरिने छ । यस्तै, लिखुतामाकोसी गाउँपालिकामा वैशाख २ गते, गोकुलगंगा गाउँपालिकामा वैशाख ४ र ५ गते परिक्षण गर्ने कार्यक्रम रहेको प्रजिअ शर्माले बताइन् । जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने अहिले र्या्पिड टेष्टको कार्यक्रम रहेको छैन ।