रामेछापमा ३८ भन्दा बढी आइसोलेसन कक्षहरु स्थापना, आइसोलेसनमा उपचाररत व्यक्तिको स्वास्थ्यमा सुधार

  • प्रकाशित मिति: शुक्रबार, चैत्र १४ २०७६
  • तामाकोशी

रामेछाप । चैत १४ गते
विभिन्न स्थानमाबाट जिल्ला भित्रिएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
बिहिबारसम्म गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
यसैगरी एकजना ज्वरोको विरामीलाई आइसोलेसनमा राखि उपचार भई रहेको छ । प्रमुख कर्णका अनुसार तामाकोसी अस्पताल मन्थलीमा आइसोलेसनमा भर्ना भएका उनको ज्वरो घटेकाले नमुना परीक्षणका लागि पठाइएको छैन । उनको ज्वरो घटेकोले मौशमी ज्वरो भएको अनुमान गरिएको छ । तरपनि उनलाई आइसोलेसमा राखेर छुट्टै उपचार भइरहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । जिल्लाका विभिन्न पालिकाहरुहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ३८ भन्दा बढी आइसोलेसन कक्षहरु स्थापना भई सकेका छन् । सबै पालिकाहरुले सामुदायीक भवन तथा विद्यालयका भवनहरुमा क्वारेन्टाइन कक्षहरु निर्माण गरेर संकास्पद र बाहिरबाट आएका मनिसहरुलाई राख्ने प्रवन्ध मिलाइएको रामेछाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । यस्ता मानिसहरुलाई क्वारन्टाइनमा राख्दा खाने बस्ने व्यवस्था समेत स्थानीय सरकारले मिलाउने गरि प्रवन्ध गरिएको छ ।