काठमाडौं : प्रधानमन्त्री केपी ओलीको बुधबार बिहान नौ बजे मिर्गौला प्रत्यारोपण हुँदै छ। प्रत्यारोपण गर्नुअघि राति १२ बजेबाट उनलाई केही खान नदिइने चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार रक्तचाप एवं शरीरको तापक्रमलगायत अन्य स्वास्थ्य अवस्थाको जाँचको रिपोर्ट राम्रो आएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति डा. धर्मकान्त बास्कोटाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो छ।
मंगलबार दिउँसो अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपण गर्नु अघिको स्वास्थ्य विवरण राम्रो रहेको जानकरी गराएका छन्। ‘प्रत्यारोपणको लागि आवश्यक औषधिहरु दिइएको छ। विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण पनि गरियो’, खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मिर्गौलामा समस्या आएपछि कात्तिक १४ गतेदेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराइरहेका छन्।
अस्पतालका निर्देशक खड्गाका अनुसार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहको नेतृत्वमा नेफ्रोलोजी टीमले प्रत्यक्ष निगरानी गरिरहेको छ। एक साता अघि ६९ औं जन्मोत्सव मनाएका प्रधानमन्त्री ओलीको उच्च मनोबलदेखेर चिकित्सक चकित छन्।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अरुण सायमी पनि प्रधानमन्त्रीको मनोबल उच्च रहेको बताए। ओलीलाई भान्जी साइनो पर्ने समीक्षा संग्रोलाले मिर्गौला प्रदान गर्न लागेकी छिन्। अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम र शर्मा र वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको समन्वयमा मिर्गौला प्रत्यारोपण गरिने छ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेकी डा. शाहको नेतृत्वमा खटिएको नेफ्रोलाजी टीमले तयार पारेपछि युरोलोजी टीममा रहेका चिकित्सक शल्यक्रियामा संलग्न हुने छन्।
नेफ्रोलोजी र युरोलोजी टीममा अन्य चिकित्सक डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौेडेल, डा. महेश प्रधान पनि शल्यक्रियमा संलग्न हुने छन्।
ब्याक सपोर्टमा भारतबाट आएका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्त कुमार रहने छन्। डा. अनन्तले ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको थिए। २०६४ सालमा पहिलो पटक उनको भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।
चार घण्टामा प्रत्यारोपण
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेले इम्युनो सप्रेसिभ औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनेमा आफू ढुक्क रहेको बताए।
मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘शिक्षण अस्पतालको सफलताको आँकडा ९८ प्रतिशत भन्दा बढी छ। नेपालमा प्रत्यारोपणमा भएको यो सफलता सुखद हो। शंकै गर्नु पर्दैन। प्रधानमन्त्रीको प्रत्यारोपण पनि सफल हुन्छ।’ प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण चार घण्टामा गरिसक्ने आंकलन सर्जनको छ। शल्यक्रियाका लागि चिकित्सकले प्रधानमन्त्री ओलीलाई मंगलबार राति १२ बजेबाट केही नखान आग्रह गरेका छन्।