काठमाडौं। विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् ।
हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् ।