शिक्षकको कुटपिटबाट सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालाका एक विद्यार्थीको हात भाँच्चिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ का १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले कुटपिट गरेका थिए ।
नेपाली विषयका शिक्षक कार्कीको कुटपिटबाट यादवको हात भाँच्चिएको परिवारजनले जनाएको छ । रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनको काका देवकुमार यादवले बताए । घटनाबारे पाठशालाका संस्थापक महेश्वर कार्कीसँग प्रतिक्रिया लिन फोन गर्दा फोन उठेन ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका देवकुमार यादवले बालबालिकालाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्नु अपराध भएको बताए । उनले भने, ‘हातै भाँच्चिने गरी कुटपिट गरिएको छ । गृहकार्य नगरेको भन्दै बालबालिकालाई भौतिक सजाय दिन मिल्दैन ।’ उनले कुटपिटमा संलग्न शिक्षकलाई कारबाही गर्नसमेत माग गरे ।