१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो । शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएका महानगरको प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए । होर्डिङ बोर्ड हटाउने कार्यलाई निरन्तरता दिने उनले बताए । काठमाडौंका होर्डिङ बोर्ड हटाउन ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको थियो । महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो ।
तर लामो समयसमम सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि महानगरविरुद्ध अवहेलनाको मुद्दा सर्वोच्चमा दायर भएको थियो ।अवहेलना मुद्दा दायर भएपछि भने महानगरले सक्रियता देखाएको हो । महानगरले २ साताअघि ७ दिने अल्टिमेटम दिँदै बोर्डहरु हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो ।अनलाईन खबरबाट सार्वजनिक समाचार !