किसानले उत्पादन गरेको कृषि उपज विक्रि नभए नगरपालिकाले किन्छ : नगरप्रमुख बस्नेत

  • प्रकाशित मिति: शुक्रबार, पुष ४ २०७६
  • तामाकोशी

रामेछाप । पौष ४ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरभित्रका किसानले उत्पादन गरेको कृषि उपज विक्रि नभए नगरपालिका किन्ने प्रतिवद्धता जनाएका छन् । आधुनिक कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार मन्थलीमा आयोजना गरको कृषक भेला तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बस्नेतले उत्पादित बस्तुले बजार नपाउँलाकी भनेर नडराई धेरै भन्दा धेरै उत्पादन गर्न किसानहरुलाई आग्रह गरे । मन्थली नगरपालिका अहिले दुध, मासु र अण्डामा आत्मनिर्भर बनेकाले अब अन्य कुरामा पनि आत्मनिर्भर हुनेगरी उत्पादनमा लाग्न नगर प्रमुख बस्नेतले किसानहरुलाई आग्रह गरे ।
किसानहरुको समस्यालाई मध्यनजर गरी नगरको बजार क्षेत्रमा कृषि उत्पादन संकलन केन्द्र चाँडै बनाउँने पनि उनले बताए । मन्थली नगरपालिकाले चालु आर्थिक बर्षमा दुध उत्पादन गर्ने किसानहरुलाई उत्पादनका आधारमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने व्यवस्था गरेको बताउँदै नगरप्रमुख बस्नेतले आगामी आर्थिक बर्षहरुमा यसलाई बढाउँदै लैजाने बताए । उनले राज्यले किसानका लागि व्यवस्था गरेको अनुदान सहि ठाउँमा प्रयोग हुन नसक्दा राज्यको लगानि अनुसार कृषिक्षेत्रको विकास हुन नसकेको भन्दै यसमा सजग भएर काम गर्न किसानलाई आग्रह गरे ।
जिल्ला सहकारी संघ रामेछापका कार्यवहाक अध्यक्ष हिमाल ढुंगेलले किसानका लागि राज्यले दिएको अनुदानमा केहि ब्यक्ति वा समुहले बदमासी गर्दा समस्या भएको बताए । कृषि कर्म मुलुककै उत्कृष्ट कर्म भएकाले यसको थप व्यवस्थापनका लागि राज्यले दिएको अनुदान सहि ठाउँमा प्रगोग गर्नुपर्ने उनको भनाई छ । मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठले मन्थली नगरपालिका भित्रका किसानहरुलाई नगरबाट दिइने सेवा सुविधामा कमि नगर्ने बताए ।
पत्रकार महासंघ रामेछापमा सचिव नवराज श्रेष्ठ , रामेछाप उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशव घिमिरे लगाएतले मन्थली नगरपालिकामा कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउँदै लैजानका लागि नगरपालिकाले आवश्यकताको पहिचान गरी प्रभावकारी कार्यक्रम ल्याउँनुपर्ने सुझाव दिएका थिए । अगुवा किसान विष्णु प्रसाद सुवेदीको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका सहभागि कृषकहरुले नगरपालिकाले आफुहरुले उत्पादन गरेको दुधको अनुदान प्रतिलिटर एक रुपैयाँबाट बढाएर पाँच रुपैयाँ पुर्याउँनुपर्ने , दाना ढुवानीमा उपयुक्त अनुदानको व्यवस्था गर्नुपर्ने र गोठ सुधारका लागि प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्ने माग गरेको आधुनिक कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष भानुभक्त श्रेष्ठले जानकारी दिए । किसनाहरुका मागका बारेमा नगरप्रमुख बस्नेतले नगरपालिका अहिलेसम्म सडक लगाएत भौतिक पुर्वाधार विकासमा केन्द्रीत भएपनि अब कृषि क्षेत्रका विसलाई जोड दिएर नगरले कार्यक्रम ल्याउँने बताए।