०७२ सालको महाभूकम्पले घर भत्काएपछि सर्वसाधारण टिनको छानामूनि थिए । जतिबेला सरकारी निकाय भत्किएका घरको लगत राख्न र योजना बनाउनमै सीमित थियो हाँस्य कलाकार धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकमा भूकम्प पीडितको लागि एकीकृत बस्ती नै तयार पारे । सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि एकीकृत बस्ती बनाउनुअघि धुर्मुस–सुन्तली जोडीले तराईका मुसहर समुदायको लागि पक्की घर सहितको एकीकृत बस्ती बनाइदिए । रौतहटमा यस्तै बस्ती बसाल्यो ।नेपालको सबभन्दा पुरानो अस्पताल वीर अस्पताल अस्तव्यस्त र भद्रगोल थियो । धुर्मुस–सुन्तली जोडीले सरसफाइसहित नयाँ रंगरोगन गरेर अस्पतालको मुहार फेर्ने काम गर्यो । यी केही उदाहरण हुन् । हाँस्य व्यंग्य विधामा आफूलाई स्थापित गरेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को यो जोडी सामाजिक कार्यका लागि देशको नमूना बनिरहेको छ । कला क्षेत्रमा आफूलाई अब्बल सावित गरेपनि धुर्मुस–सुन्तली जोडीले दामभन्दा नाम कमाइमा ध्यान मोडेको छ ।सरकार र राज्यको संलग्नता विना असम्भव ठानिने काममा उनीहरूले एकपछि अर्को जोखिमपूर्ण कामका हात हालिरहेका छन् । सफल पनि भइरहेका छन् । उनीहरूले आटेको त्यस्तै एउटा काम हो – गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । पश्चिम चितवनको रामपुर कृषि क्याम्पसको कम्पाउन्ड रहेको क्षेत्रमा धुर्मुस सुन्तलीको जोडीले २० बिगाह ८ कठ्ठा जमिनमा अहिले क्रिकेट रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । निर्माण शुरू भएको छोटो अवधिमा रंगशालाले एउटा स्वरुप लिँदैछ ।
अभियानको नेतृत्व गरेपनि धुर्मुस अन्य कर्मचारी र मजदूरसरह फिल्डमै खटिएका हुन्छन् । रंगशाला निर्माणको भूतले गर्दा उनले अहिले घरपरिवार बिर्सेका छन । ‘सिन्धुपाल्चोकमा एकीकृत बस्ती बनाउने बेला हामीले ८ महिनाकी छोरीलाई छाडेर हिँडेका थियौं, फागुनमा छोरी ६ वर्ष पुग्दैछिन्, यसबीचमा म ३ महिना पनि छोरीसँग बसेको छैन,’ कट्टेल भन्छन्, ‘अहिले पनि अवस्था उस्तै छ । धुर्मुस बाबा हो भनेर चिन्छिन् तर मसँग रमाउँदिनन्, नमिठो लाग्छ । ८ महिनादेखि छाडेकी छोरी ६ वर्ष पुग्दैछिन्, बाबा भनेको आवाज सुन्दा गर्विलो हुन्थ्यो, यही चिज मैले मिस गरिरहेको छु ।’
धुर्मुस रंगशालाको काममा फिल्मडै व्यस्त रहँदा सुन्तली भने आर्थिक सहयोग जुटाउने काममा लागेकी छन् । ‘१ जना नारीले सहयोगका लागि अपिल गर्नेबाहेक श्रमदान गर्न नसक्ने भएकाले उनी आर्थिक अभियानमा खटिएकी छन्, म फिल्डमै छु । रंगशाला निर्माण नसकिएसम्म विश्राम लिन्नँ,’ धुर्मुसले भने ।