भलिबल लिग खेल्न प्रतिभा माली माल्दिभ्स प्रस्थान

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २७ २०७६
  • तामाकोशी

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली लिग भलिबल खेल्न माल्दिभ्स प्रस्थान गरेकी छन्। उनी त्यहाँको चर्चित महिला भलिबल लिग खेल्न बिहीबार माल्दिभ्स उडेकी हुन्। प्रतिभाले त्यहाँको पुलिस क्लबबाट खेल्न लागेको न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल एवं प्रशिक्षक कुमार राईले जानकारी दिए। ‘माल्दिभ्समा खेल्नका लागि दुई/तीनवटा क्लबबाट प्रस्ताव आएको थियो’, प्रशिक्षक राईले भने ‘त्यहाँको राष्ट्रिय टोलीकी कप्तान जुझानको विशेष आग्रहमा उनी पुलिस क्लबबाट लिग खेल्न लागेकी हुन्।’प्रतिभाले पनि लिगका लागि केही क्लबबाट प्रस्ताव आए पनि पुलिस क्लब छनोट गरेको बताइन्।

‘माल्दिभ्समा पहिले पनि खेलिसकेकाले केही क्लबले प्रस्ताव गरेका थिए’, उनले भनिन्, ‘त्यहाँका साथीहरूको आग्रहमा यस पटक पुलिसबाट खेल्न लागेको छु।’ प्रतिभाले त्यहाँको लिग छोटो समयको मात्रै हुने र नेपालमा पनि भर्खरै १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको र कुनै गतिविधि नभएकाले माल्दिभ्स जान लागेको बताइन्।



‘भर्खरै साग सकिएकाले भलिबलका कुनै गतिविधि नभएको र लिग पनि छोटो भएकाले माल्दिभ्स जान लागेकी हुँ’, प्रतिभाले भनिन्। उनले लिगमा करिब दुई हजार पाँच सय डलर पाउने जनाइएको छ। प्रतिभाले माल्दिभ्समा भलिबल लिग खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि पनि त्यहाँको क्लबबाट भलिबल खेलिसकेकी छन्। न्यु डायमन्ड एकेडेमीबाट घरेलु भलिबल खेल्दै आएकी प्रतिभाको प्रेरणामा नेपाली महिला टोलीले १३औं सागमा रजत पदक जितेको थियो। उनी टोलीकी ओपन स्पाइकर हुन्।