रामेछापमा एच आईभी एड्सको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायसंग छलफल

  • प्रकाशित मिति: बुधबार, मंसिर ४ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर ४ गते,
रामेछापको सदरमुकाम मन्थलीमा एच आईभी एड्सको क्षेत्रमा काम गर्ने संघसंस्था तथा सरोकारवाला निकायहरु सँग छलफल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले त्यस छलफलको आयोजना गरेको हो । छलफलमा रामेछापका आठ ओटै स्थानिय तहका स्वास्थ्य शाखाका प्रमुख सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद भट्राईको उपस्थितिमा भएको छलफल कार्यक्रममा जिल्ला अस्पताल रामेछापका प्रमुख विद्या खनालले रामेछाप जिल्लामा एच आईभी एड्सको अवस्था र रोकथाममा भईरहेको प्रयासका विषयमा जानकारी दिइन । संस्थागत विवरण प्रस्तुत गर्दै प्रमुख खनालले सन् २०१०देखी सन् २०२० सम्म एच आईभी संक्रमण ७५ प्रतिशत घटउने र सन् २०३० सम्म एच आईभी अन्त्य गर्ने नेपाल सरकारको घोषित लक्ष्य रहेको हुँदा त्यसलाई आधार मानेर सरकारी निकाय तथा संघसंस्थाहरुले काम गरिरहेको जानकारी दिइन् । रामेछाप जिल्लामा एच आईभी एड्सबाट बच्नको लागी आगामी दिनमा थप कार्यक्रमहरु समेत संचालन गरिने उनले बताइन् ।
छलफलमा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद भट्राईले एच आईभी एड्सलाई नेपालबाट सन् २०३० सम्म अन्त्य गर्ने नेपाल सरकारको लक्ष्यलाई पुरा गर्न सरोकारवाला निकायहरु सक्रिय हुनुपर्ने बताए । त्यसैगरी छलफलमा स्थानिय निकायका स्वास्थ्य शाखाका प्रमुखहरुले प्रविधिको अभावको कारणले गर्दा एच आईभी एड्स संक्रमितको पहिचान गर्न समस्या भएको भन्दै दक्ष जनशक्ति सहित एच आईभी परिक्षण गर्ने यन्त्र स्थानिय तहमा व्यवस्थापन भए एच आईभी एड्स संक्रमितको पहिचान गरी उपचार गर्न सजिलो हुने बताएका छन् । त्यसैगरी संचारकर्मीहरुले सार्वजनिक संचारमाध्यम मार्फत एच आईभी एड्स नियन्त्रणको लागी जनचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका छन् ।