महिला भलिबल टोलीले रच्यो ईतिहास

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २९ २०७६
  • तामाकोशी

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो संस्करणमै एभीसी एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको उपाधि जितेर इतिहास रचेको छ । बिहीबार बंगलादेशको ढाकास्थित मिरपुर सुरवार्दी इन्डोर हलमा भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई सहजै पराजित गरेर उपाधि जितेको हो। नेपालले सो खेलमा २५–१३, २५–१२, २५–८ को जित हात पारेको हो। योसँगै नेपाली भलिबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि हात परेको छ। साथै नेपालले अपराजेय रहनुका साथै एक सेट पनि नगुमाई उपाधि जितेर एउटा नौलो कीर्तिमान पनि रचेको छ। प्रतियोगितामा तेस्रो स्थान किर्गिस्तानले हात पारेको छ।

यसअघि नेपालको महिला र पुरुष भलिबल टोलीले नेपाललाई उपाधि दिलाउन सकेका थिएनन्। तर यसपटक महिला भलिबल टोलीले नेपाललाई उपाधि दिलायो। महिला टोली सन् २०१४ मा काठमाडौंमै आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोेगितामा दोस्रो हुनु नै नेपाली भलिबलमा ठूलो उपलब्धि थियो। यसैगरी दक्षिण एसियाली खेलकुद ९साग०मा पनि महिला टोलीले नै कांस्य पदक जितेको छ। नेपाली पुरुष भलिबलको उपलब्धि भनेको तेस्रो एभीसी सेन्ट्रल जोनमा कांस्य पदक जित्नु हो। ढाकामा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन खेलदेखि नै सानदार प्रदर्शन गरेको थियो।



५ राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई सोझो सेटमा हराउँदा विपक्षीले दोहोरो अंक पनि छुन सकेको थिएन। यसपछि दोस्रो खेलमा किर्गिस्तानलाई पनि तीन सेटमै पन्छाएको नेपालले आयोजक बंगलादेशमाथि पनि उस्तै नतिजा निकाल्यो। नेपालले माल्दिभ्सलाई पनि लिग खेलमा सोझो सेटमै हराएको थियो।