आज हरिबोधिनी एकादशीः कोजाग्रत पुणिमामा बोलेको बत्ति आजबाट नबाल्ने

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

काठमान्डौ ।
दशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका पर्वहरुको समापनसंगै ठूला पर्वहरू पनि घट्दै गएका छन् । यसबिच हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको मानिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने परम्परा पनि छ ।
हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।
बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यू देखि हरेक सनातन सस्कारमा तुलसी को बिरुवा अनि पातको महत्व हुन्छ । तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा बिधमान छ । आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्यूशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फुललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।
पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । त्यस्तै श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।
भोजनलाई सदैव तुलसीको पात राखेर मात्र सेवन गर्ने भगवान श्रि कृष्णलाई तुलसीसंग जोडिएका प्रसंगहरु धेरै छन् । गौतमीय तन्त्र अनुसार भक्तहरुले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रि कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।
औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ । तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।
आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ ।



@हाम्रो पात्रोबाट