काठमाडौं-कर्णाली प्रदेशको विकट जिल्ला कालिकोट स्थित रास्कोट अस्पताल निर्माणार्थ लिभरपूल नेपाली समाजले आयोजना गरेको च्यारिटी कार्यक्रमबाट संकलन गरेको रकम रवि लामिछाने फाउन्डेशनलाई हस्तान्तरण गरिएको छ ।
गत जुलाईमा लिभरपूल स्थित एभरेष्ट किचेनमा सन्चालन भएको कार्यक्रमबाट संकलित रकम फाउन्डेशनका अध्यक्ष रबि लामिछानेलाइ हस्तान्तरण गरिएको हो । लिभरपूल निवासी युवा व्यवसायी माधव प्रसाद आचार्य र पार्वती सुवेदीको संयोजनमा भएको कार्यक्रमबाट अस्पतालको लागि तीन लाख एक्काइस हजार दुई सय चार रुपैयाँ (रु. ३,२१,२०४) संकलन भएको थियो । उक्त कार्यक्रममा स्थानीय कलाकारको नृत्य प्रस्तुती रहेको थियो भने चर्चित गायक उज्वल भण्डारीले गायकी मार्फत प्राप्त हुने सबै पारिश्रमिक रास्कोट अस्पताल लाई नै प्रदान गरेका थिए ।

लिभरपूल नेपाली समाजका अध्यक्ष डा शम्भु आचार्य लगायत सम्पूर्ण समाजका अन्य सदस्यहरुले उक्त कार्यक्रम सम्पन्न गर्न आआफ्नो ठाउँबाट महत्वपूर्ण योगदान गरेका थिए भने कार्यक्रममा म्यानचेस्टर, वेल्स, लण्डन र लेस्टर लगायत बिभिन्न ठाउँबाट नेपाली समूदायको सहभागिता रहेको थियो । कार्यक्रममा समाजका अध्यक्ष डा शम्भु आचार्यले आफु पनि डाक्टर पेशामै आबद्ध रहेकोले विकटको अस्पताल सहयोग गर्ने कार्यक्रम ले आफू निकै खुसी भएको कुरा राख्नुभएको थियो ।
कार्यक्रम मार्फत संकलित रकम हस्तान्तरण गर्नको निम्ति नेपाल आइपुगेका समाजका सदस्य माधव प्रसाद आचार्य र शिवराज पन्तले न्युज २४ टेलिभिजन मा फाउन्डेशनका अध्यक्ष तथा बरिष्ठ सन्चारकर्मी रवी लामिछाने लाई उक्त रकम हस्तान्तरण गरेका थिए !