काठमान्डौं, असोज १८ गते ।
दशैको सप्तमीको यो विशेष दिनलाई फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ुफूलपातीु भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स(साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुनेगर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन थियो ।
लोकतन्त्र आगमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिएपनि थोरै फूलपाती भएपनि मोटरसाईकलमा काठमाडौसम्म ल्याइने गरिएको स्थानिय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरवारका कर्मचारीहरु सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन्, यसरी सङ्कलनगरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ । उक्त फूलपातीलाई विशेष मौलिक सिङ्गारपटार गरेर, झकीझकाउ बनाएर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ, दरबारबाट आएका विशेष टोलीहरुले वाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रागरेर फूलपाती दरवार भित्राउने चलन छ ।
@हाम्रो पात्रोको सहयोगमा