गाँउपालिका अध्यक्ष गोविन्द ब. खड्कामाथि अर्काे आरोपः विव्यस गठनमा पनि अनियमितता गरे (माइनट सहित)

  • प्रकाशित मिति: बुधबार, असोज १५ २०७६
  • तामाकोशी

रामेछाप, असोज १५ गते ।
रामेछापको लिखु तामाकोसी गाँउपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कामाथि फेरी अर्काे अनियमितताको आरोप लागेको छ । वडा नम्बर १ दुरागाँउमा विद्युतिकरण हुदाको विवाद सेलाउन नपाउदै झट्टेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा अनियमितता गरेको भन्दै गाँउपालिका अध्यक्ष खड्कामाथि अर्काे आरोप लागेको हो ।
वडा नम्बर ५ धोवी स्थित श्री झट्टेश्बरी माध्यमिक विद्यालयमा यहि असोज १० गते व्यवस्थापन समिति गठन प्रक्रियामा धाँधली गरेको आरोप लगाउदै वडा अध्यक्ष सोमबहादुर तामाङको नेतृत्वमा ९४ जनाले असहमति जनाएको माइनट गरेका छन् । उक्त माइनट सहित पुन विद्यालय व्यवस्थापन समिति गठन गर्न माग गर्दै शिक्षा विकास तथा समन्वय ईकाईमा वडासदस्य अम्बरबहादुर खड्काले निवेदन बुझाएका छन् । निवेदन पत्रमा “शिक्षा ऐन नियम विपरित धाँधली गरी वि.व्य.स. गठन भयो, भनि स्वतः आफुलाई अध्यक्ष भएको घोषणा गर्नु भयो, ९० प्रतिशत अभिभावकहरुले विरोध र असहमति जनाउदा पनि आफुलाई अध्यक्ष भएको घोषणा गरेर हिडे, यस क्रियाकलापबाट यो नेतृत्वले विद्यालयलाई उधोगतिमा लाने हुनाले हामीले खोजेको नयाँ नेपाल सुखी नेपालीको नारा यसमा पुरा हुन नसक्ने” लगाएतका बुदाहरु उल्लेख गरिएका छन् ।
यसैगरी निवेदन पत्रमा अध्यक्ष गोविन्द बहादुर खड्काले अनियमित गरेका आरोपी विभिन्न ९ बुदे कार्यहरु समेत उल्लेख गरेका छन् ।
यता गाँउपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले आफुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मागेको र नियमले दिदैन भन्दा प्रपन्च रचेको आरोप लगाएको छ । उनले भने “विद्यालय व्यवस्थापन समितिको अध्यक्ष म हुनु पर्छ भनेर हिड्नेहरु ऐन नियमले नपाए पछि निराधार आरोप लगाएर हिडेको हो” । अत्याधिक बहुमतले गोविन्द बहादुर खड्कानै हुनु पर्छ भनेर मलाई अविर माला लगाएर वि.व्य.स. अध्यक्ष चुनियो, कहाँ बाट आयो ९४ जनाको विमतिको हस्ताक्षर ? सबै गैर अभिभावकहरुको किर्ते हस्ताक्षर हुन” उनले भने ।
पछिल्लो समयमा लिखु तामाकोसी गाँउपालिका भित्र जनप्रतिनिधीहरु विचको विवाद बढ्दै गएका छन् भने गाँउपालिका भित्रको प्रशासनिक कार्यहरु समेत सहजरुपमा सञ्चालन हुन सकेका छैनन् ।