काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. वीर अस्पतालमा खाजाको नक्कली बिल बनाएर एक महिनामै लाखौंको भ्रष्टाचार !
काठमाडौं । वीर अस्पतालका पदाधिकारीले दैनिक १० औं हजारको खाजा अस्पतालको नामबाट खाने गरेको पाइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले स्विकृत गरेका केही बिलहरु प्राप्त भएको छ । २०७६ असार ११ गतेको एक बिलमा एकै दिन ६८ हजार २ सय २९ रुपैयाँको खाजा–खाना खाएको देखिन्छ । यसैक्रममा गत असार १६ गते ५६ हजार ५ सय १६ रुपैयाँको खाजा–खाना खाएको बिल अस्पतालले भुक्तानी गरेको छ । यस्तै असार २० गतेका दिन ५३ हजार ५ सय ८४ रुपैयाँ, असार २६ गतेका दिन ७५ हजार २ सय ४१ रुपैयाँको खाजा–खाना खाएको बिल अस्पतालले तिरेको छ ।
२. लगेजका ट्यागनै हेर्दैनन् विमानस्थलका कर्मचारी !
काठमाडौं । २३ सेप्टेम्बर साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजमाफर्त चितवनकी सोममाया मगर अवतरण गरिन् । आगमन कक्षको अध्यागमन पास गरिसकेपछि लगेज घुमिरहेको ट्रलीबाट लगेज लिइन् र आफ्नो बाटो लागिन् । त्यो लगेज उनको हो वा होइन भनि उनको लगेज ट्याग कुनै कर्मचारीले पनि हेरेनन् । तीन दिनपछि चितवन घर पुगेर लगेज खोल्दा मात्रै लगेज साटिएको चाल पाइन् । अर्कै व्यक्तिको लगेज आएको र आफ्नो लगेज साटिएको थाहा पाएपछि लगेज खोलेर त्यसभित्र भेटिएको कागज–पत्रका आधारमा लगेज रोल्पाकी सीतादेवी डाँगीको पहिचान भएपछि उनलाई सम्पर्क गरिन् । यता सीतादेवी डाँगीले २३ सेप्टेम्बरमै आफ्नो लगेज नभेटेपछि विमानस्थलमा जानकारी गराइसकेकी थिइन् ।
३. ट्राफिक प्रहरीको मिलेमत्तोमा लाइसेन्स बिना हेटौंडामा अटो चलाइन्छ !
हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र दैनिक करीब ३ हजार ३ पांग्रे अटो तथा मयुरी गुड्ने गरेका छन् । तर तीनका चालकमध्ये करीब १५ सय सवारी चालकसँग मात्रै चालक अनुमति–पत्र छ । करीब २ दर्जन ट्राफिक प्रहरी हेटौंडा बजारमा नै ड्युटीमा रहन्छ, तर ट्राफिक प्रहरी कै अगाडि लाइसेन्स बिनानै सवारी चलिरहेका छन् । अधिकांशसँग लाइसेन्स नभएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकाल आफै स्विकार्छन् ।न्युज 24 बाट लिएका हौ ।