सोमबार दिउँसो बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा ५/७ जना घेरा हालेर कुर्सीमा बसिरहेका थिए । त्यहाँ पत्रकार र प्रहरी कर्मचारी मात्र थिए । केही छिनमै प्रहरीको भ्यानमा हालेर तीन जना बालिका र एक जना बालकलाई ल्याइयो । प्रहरीको सुरक्षासँगै उनीहरु पनि केन्द्रको गेटभित्र छिरे । उनीहरु सडकबाट उद्धार गरेर ल्याएका बालबालिका रहेछन् । तर, उनीहरुको हुलिया हेर्दा भने सडकबाट उद्धार गरिएका जस्ता देखिदैन थिए । उनीहरुको पहिरन काठमाडौँको कुनै धनाढ्य परिवारको सदस्यले लगाउने भन्दा कम थिएन ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले आइतबार राती ३ बजेको समयमा उनीहरुलाई दरबारमार्गस्थित डेजाभु क्लबको गेट बाहिर सडकमा बसेर चुरोट तान्दै गरेको देखेपछि उद्धार गरेको दरवारमार्ग वृत्तका प्रमुख डीएसपी विनोद घिमिरेले रातोपाटीलाई जानकारी दिए । सडकबाट उद्धार गरेका ती बालबालिकाहरुलाई केन्द्रको जिम्मा लगाउन ल्याइएको थियो ।
तीनै जनाले बालिकाले आफ्नो घर फरक–फरक जिल्ला बताए – इलाम, झापा र अर्घाखाँची । भागेर काठमाडौँ आएको उनीहरुको भनाइ थियो । क्षेत्रपाटीमा एउटा कोठा लिएर मिलेर बस्दै आएको बताउने उनीहरु तीनैजनाले काठमाडौँमा कोही आफन्त नभएको बताए ।
बालकले आफ्नो घर काभ्रे बताए ।
प्रहरीलाई चरेस किन्न अफर
आइतबार राती सडक बालबालिकालाई उद्धार गर्न ठमेल पुगेको प्रहरीको टोलीले एउटा अनौठो दृश्य देख्यो ।
करीब १० वर्षको बालकले हातमा चरेस लिएर बिक्री गर्नको लागि ग्राहक खोज्दै थिए । रेस्क्यू गर्न पुगेको टोलीले एकछिन त्यो दृश्यलाई नियालिरह्यो ।
केहीबेर ती बालकको गतिविधि नियालेपछि टोलीले बालकलाई सोध्यो, ‘यो के हो बाबु ?’
उताबाट जवाफ आयो, ‘चरेस । किन्ने हो ?’
टोली केही बेर अकमक्कियो । र, फेरि ग्राहकजस्तै बनेर सोध्यो – ‘कति पर्छ ?’
‘२ हजार दिनुहोस्,’ ती बालकको जवाफ थियो ।
‘विदेशीलाई चाहिँ अलि महङ्गोमा बेच्ने गर्छौं । नेपाली पर्नुभयो सस्तोमा दिएको छु ।’
त्यसपछि उद्धार टोलीले बालकलाई नियन्त्रणमा लियो र त्यहीँ थप सोधपुछ गर्नतिर लाग्यो ।
‘तिमीले कहाँबाट ल्याएको ?’
बालकको उत्तर थियो, ‘झ्याप्लेले अघि भर्खर दिएको र, भाग्यो ।’
केही कुरा फुत्काउँछन् कि भनेर उद्धार टोलीले ती बालकलाई फकाउँछन् – कसले दिएको नाम भन्यौ भने हामी तिमीलाई छाड्दिन्छौ ।
तर, पनि ती बालकले ‘झ्याप्ले’ मात्र नाम लिइरहन्छ । अरु कुरा खोतल्दैन ।
झ्याप्ले को हो ती बालक आफैँलाई थाहा छैन ।
व्यस्त बजार ठमेलमा एउटा १० वर्षको बालकले यसरी चरेस बेचिरहेको पाएपछि अहिले प्रहरी आफै अचम्ममा परेको छ ।
भिडियो हेर्नुहोस्\
https://youtu.be/G5pWrC0rIaU