विश्वका सबै समाज पुरुषप्रधान समाज छन् । यसमा धेरै थोरैको कुरा मात्र हो । यसैले हरेक समाजमा छोरी मानिस बढ्दै गएपछि ऊ केटी हो र उसमा ‘से*क्सुअल अपिल’ छ भन्ने महसुस गराउँदै लगिन्छ । योसँगै तिनलाई आफू पुरुषको नजरबाट बच्नुपर्छ र त्यसको लागि आफ्नो शरीरलाई शालिन ढङ्गले ढाकेर राख्नुपर्छ भनेर समाजीकरण गरिन्छ ।
समय–समयमा महिलाले के लगाउने, के नलगाउने भन्ने कुरा पुरुषसोचबाट निर्धारण हुनुहुँदैन भन्दै विरोधको आवाज उठ्ने गर्छ । यही विरोध शृङ्खला अनुरुप दक्षिण कोरियामा महिलाहरुले ‘नो ब्रा मुभमेन्ट (ब्रा बहिष्कार अभियान)’ चलाइरहेका छन् । दक्षिण कोरियाका समाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘ह्याशट्याग नो ब्रा’ ट्रेण्डिङमा छ । महिला ब्रा नपहिरिकन अन्य कपडाका साथ खिचिएका आफ्नो तस्विर समाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।
कसरी सुरु भयो अभियान ?
दक्षिण कोरियामा ‘नो ब्रा ह्यासट्याग’ समाजिक सञ्जालमा ठूलो अभियानमा रुपान्तरण भयो । यसको सुरुवात दक्षिण कोरियाकी गायिका र अभिनेत्री सुलीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा ब्रा बिनाको तस्विर सेयर गरेपछि भयो । लाखौँ फलोअर्स भएकी सुलीको इन्स्टाग्रामको उक्त तस्वीर भाइरल भयो । त्यसपछि सुली दक्षिण कोरियामा ‘ब्रा मुक्त’ अभियानको प्रतिक बनिन् ।
अभियान बढ्दै गएपछि मानिसले यस अभियानको अर्थ निकाल्ने प्रयास गरेका छन् । यस अभियानबाट दक्षिण कोरियाका महिलाले ब्रा लगाउने वा नलगाउने विषय तिनको निजी स्वतन्त्रताको विषय हो भन्न खोजेको जस्तो देखिन्छ ।
‘ब्रा मुक्त’ अभियानको आलोचना
अभियान बढ्दै गएपछि कयैनले सुलीको आलोचना पनि गरे । यसमा महिला र पुरुष दुवै सामेल थिए । आलोचकले यसलाई सस्तो लोकप्रियता हासिल गर्ने र अरुको ध्यान तान्ने हतकण्डा बताए । केहीले त सुलीले आफ्नो लोकप्रियताको लागि महिला आन्दोलनको दुरुप्रयोग गरेको पनि आरोप लगाए ।
एक जना समाजिक सञ्जालका प्रयोगकर्ताले सुलीको पोस्टमा लेखेका छन्, ‘ब्रा लगाउने कि नलगाउने नीजि विषय हो । तर सुली सधैँ कसिलो सर्टमा ब्रा नलगाई फोटो खिचाउँछिन् । त्यसले गर्दा तिनको स्तन उठेको देखिन्छ । उनलाई त्यस्तो गर्नुपर्ने जरुरी छैन ।’ यस्तै एक अन्य पोस्टमा लेखिएको छ, ‘ब्रा लगाएको वा नलगाएकोमा हामी तिमीलाई गलत मान्दैनौँ । खाली तिमीले आफ्नो निप्पल ढाक्नुपर्छ ।’
अर्का एक जनाले धार्मिक विषय जोडेर सुलीबारे लेखेका छन्, ‘तिमीलाई लज्जा हुनुपर्ने हो । के तिमी यस्तो अवस्थामा धार्मिकस्थल जान सक्छौँ ? पुरुषमात्र होइन, महिलालाई पनि असहज महसुस हुन्छ ।’ हालै एक अर्की चर्चित गायिका ह्वासाले आफ्नो ब्राबिनाको फोटो शेयर गरेपछि यो अभियान थप चर्किएको छ ।